काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको तालाबन्दी प्रकरण अझै कायमै रहेको छ । अध्यक्ष नन्दकिशोर बस्नेतको हठ र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण बिहीबार तालाबन्दी खुलाउने भनिए तापनि अझै ताला झुण्डिरहेकै छ । महाप्रबन्धक सुभाष सिटौलाको कार्यकक्षमा अध्यक्ष बस्नेतले लगाएको ताला खुलाउने क्रममा बुधबार दुई पक्षबीच झडप भएको थियो भने झडपको विषयलाई लिएर प्रहरी प्रशासनलाई कर्मचारीहरुले बस्नेत विरुद्ध कारबाहीका लागि निवेदन दर्ता गराईसकेका छन् । बिहीबार राज्यमन्त्री मोतीलाल दुगडको कार्यकक्षमा भएको दुई पक्षीय वार्तामा शुक्रबारदेखि महाप्रबन्धक सिटौलाको कार्यकक्षमा लगाइएको ताला अध्यक्ष बस्नेतले खोल्ने र अध्यक्ष र महाप्रबन्धकले आ–आफ्नो जिम्मेवारीअनुसारको कार्य गर्ने सहमति भए पनि अध्यक्ष बस्नेतले मन्त्रालयमा राजी गरेको सहमति अझै कार्यान्वय गरेका छैनन् । उनले महाप्रबन्धक सिटौलाले गरेको कर्मचारी सरुवाको निर्णय फिर्ता नलिएसम्म र उक्त निर्णय फिर्ता लिने सहमति राज्यमन्त्रीकै उपस्थिति नभएसम्म ताला नतोड्ने नयाँ अडान शुक्रबारबाट थपिएपछि उक्त घटनाले अर्को मोड लिन पुगेको हो । शुक्रबार राज्यमन्त्रीले वार्ताको पहल गरे पनि दुवै सचिव उपत्यका बाहिर भएका कारण सहमति खोज्ने प्रयास सम्भव भएको थिएन भने आइतबार राज्यमन्त्री र मन्त्री नै काठमाडौंमा उपलब्ध नभएका कारण औद्योगिक क्षेत्रको समस्या ज्यूकाज्यू रहेको छ । सोमबार बेलुकी बिराटनगरबाट राज्यमन्त्री फर्किने र मन्त्री लेखराज भट्ट पनि चितवनबाट सोमबार फर्किने कार्यक्रम रहेको हुँदा सम्भवत मंगलबारबाट उक्त प्रकरणका सन्दर्भमा मन्त्रालयले ठोस निर्णय लिने आशामा लिमिटेडका कर्मचारी एवं उद्योगीहरु रहेका छन् ।