free website hit counter

बाढीपछि जीवन बीमा कम्पनीमा पनि दाबी बढ्ने

beemaadmin
२०८३ भाद्र २३, मंगलवार

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि निर्जीवन बीमा कम्पनीसँगै जीवन बीमा कम्पनीहरूमा पनि मृत्यु दाबीको दबाब बढ्ने देखिएको छ।

बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूमा बाढीबाट भएको क्षतिबापत करिब २६ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ। जीवन बीमा कम्पनीमा भने हालसम्म ठूलो संख्यामा दाबी परिसकेको छैन। तर बाढीमा मृत्यु तथा सम्पर्कविहीन हुनेको संख्या बढ्दै गएकाले आगामी दिनमा मृत्यु दाबी बढ्न सक्ने कम्पनीहरूले बताएका छन्।

नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार बाढीका कारण १ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन छन्। यद्यपि, मृत्यु तथा सम्पर्कविहीनमध्ये कति जना जीवन बीमित थिए भन्ने यकिन तथ्यांक अझै संकलन भइसकेको छैन।

अहिले बीमितको अवस्थाबारे जानकारी संकलन

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेका अनुसार कम्पनीमा हालसम्म बाढीका कारण मृत्यु भएको औपचारिक दाबी आएको छैन। कम्पनीले अभिकर्ता तथा प्रभावित क्षेत्रका शाखामार्फत बीमितको अवस्थाबारे जानकारी लिइरहेको छ।

विदुर, धादिङ र नौबिसेमा शाखा रहेकाले प्रभावित क्षेत्रमा समन्वय भइरहेको बताउँदै पाण्डेले आगामी दिनमा मृत्यु दाबीको दबाब पर्न सक्ने बताउनुभयो। यद्यपि, सबै मृतकको जीवन बीमा नहुने भएकाले दाबीको संख्या अपेक्षाकृत कम हुन सक्ने उहाँको भनाइ छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले पनि हालसम्म बाढीमा मृत्यु भएका बीमितको दाबी नआए पनि आगामी दिनमा दाबी पर्न सक्ने बताउनुभयो। विदुर शाखा तथा अभिकर्तामार्फत बीमितको अवस्थाबारे जानकारी लिने काम भइरहेको उहाँले जानकारी दिनुभयो।

“अहिले प्राथमिकता हराएका व्यक्तिको खोजीमा छ, त्यसैले केही दिनपछि मात्रै मृत्यु दाबी आउन सक्छ,” तिवारीले भन्नुभयो।

सिटिजन्स लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बिसीका अनुसार केही संख्यामा मृत्यु दाबी आउन थालेका छन्। यद्यपि, हालसम्म दाबीको संख्या न्यून रहेको उहाँले बताउनुभयो। बाढी प्रभावित क्षेत्रबाट नयाँ सूचना आउने क्रम जारी रहेकाले आगामी दिनमा दाबी बढ्न सक्ने उहाँको भनाइ छ।

आईएमई लाइफ इन्स्योरेन्सका सूचना अधिकारी सुदीप रानाका अनुसार हालसम्म कम्पनीमा बाढीका कारण कुनै मृत्यु दाबी परेको छैन। मृत्यु दाबीका लागि मृत्यु भएको प्रमाणित गर्ने आवश्यक कागजात चाहिने भएकाले खोजी तथा पहिचानको काम पूरा भएपछि मात्रै औपचारिक दाबी प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो।

नुवाकोटमा कम्पनीको शाखा रहेकाले त्यहाँबाट समेत आगामी दिनमा दाबी आउन सक्ने रानाले जानकारी दिनुभयो।

नेपाल लाइफ इन्स्योरेन्सको नुवाकोट शाखा प्रमुख अम्बिका श्रेष्ठले प्रभावित क्षेत्रमा कम्पनीका धेरै बीमित परेको जानकारी रहेकाले आगामी दिनमा मृत्यु दाबी बढ्न सक्ने बताउनुभयो। सञ्चार तथा सडक सम्पर्क अवरुद्ध हुँदा बीमितको अवस्थाबारे जानकारी लिन कठिनाइ भइरहेको उहाँको भनाइ छ।

सन नेपाल लाइफ इन्स्योरेन्सको धादिङ शाखाकी प्रतिमा घिमिरेले पनि हालसम्म मृत्यु दाबी नपरेको तर केही बीमित सम्पर्कविहीन रहेकाले आगामी दिनमा दाबी आउन सक्ने बताउनुभयो। कम्पनीले अभिकर्तामार्फत बीमितको अवस्थाबारे जानकारी लिइरहेको उहाँले जानकारी दिनुभयो।

ठूलो दाबी आए पनि भुक्तानी गर्न सक्षम रहेको कम्पनीको दाबी

एकै क्षेत्रबाट ठूलो संख्यामा मृत्यु दाबी आएमा जीवन बीमा कम्पनीको दाबी भुक्तानी तथा तरलतामा केही दबाब पर्न सक्ने देखिए पनि कम्पनीहरूले त्यस्तो अवस्था आए पनि दाबी भुक्तानी गर्न आफूहरू सक्षम रहेको बताएका छन्।

जीवन बीमा कम्पनीले बीमितको मृत्यु भएपछि बीमालेखमा उल्लेखित सर्तअनुसार बीमांक रकम तथा लागू हुने अन्य सुविधा भुक्तानी गर्नुपर्छ। त्यसका लागि कम्पनीहरूले नियमित रूपमा दाबी भुक्तानीका लागि आवश्यक रकमको व्यवस्थापन गर्दै आएका हुन्छन्।

कम्पनीहरूका अनुसार बाढी प्रभावित क्षेत्रबाट ठूलो संख्यामा मृत्यु दाबी आए पनि त्यसले समग्र वित्तीय अवस्थामै गम्भीर असर पार्ने अवस्था छैन। यद्यपि, वास्तविक दाबीको संख्या र रकम बीमितको यकिन विवरण प्राप्त भएपछि मात्रै स्पष्ट हुनेछ।

निर्जीवन बीमामा पनि दुर्घटनासम्बन्धी दायित्व

बाढी प्रभावित क्षेत्रमा जलविद्युत् आयोजना, उद्योग तथा अन्य संस्थामा कार्यरत जनशक्तिको दुर्घटना वा मृत्युबाट हुने क्षतिको प्रकृति र बीमाको प्रकारअनुसार दायित्व निर्जीवन बीमा कम्पनीतर्फ पनि पर्न सक्छ।

कुनै संस्थाले आफ्ना कर्मचारीको दुर्घटना तथा अन्य जोखिमको बीमा गराएको अवस्थामा बीमालेखका सर्तअनुसार क्षतिपूर्ति निर्जीवन बीमा कम्पनीले व्यहोर्नुपर्ने हुन्छ। त्यसको विपरीत, जीवन बीमा कम्पनीले आफ्ना बीमितको जीवन बीमाअन्तर्गत पर्ने मृत्यु दाबी मात्रै भुक्तानी गर्छ।

बाढीमा मृत्यु भएका तथा सम्पर्कविहीन व्यक्तिमध्ये कति जना जीवन बीमित थिए भन्ने यकिन विवरण अझै उपलब्ध नभएकाले अहिले नै मृत्यु दाबीको कुल रकम अनुमान गर्नु हतार हुने बीमा कम्पनीहरूको भनाइ छ। खोजी, पहिचान र कानुनी प्रक्रिया पूरा हुँदै गएपछि मात्रै जीवन बीमा क्षेत्रमा परेको वास्तविक दाबीको अवस्था स्पष्ट हुने देखिएको छ।

सम्बन्धित समाचार