free website hit counter

बाढी प्रभावित नेपाललाई विश्व बैंकले १७ करोड डलर सहयोग गर्ने

beemaadmin
२०८३ भाद्र ११, बिहीबार

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नेपाललाई विश्व बैंकले १७ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयका अनुसार उक्त रकम करिब २५ अर्ब रुपैयाँ बराबर हुनेछ।

विश्व बैंकबाट प्राप्त हुने सहयोगमध्ये १ करोड अमेरिकी डलर तत्कालको राहत तथा पुनःस्थापनाका लागि ‘र्‍यापिड रेस्पोन्स अपरेसन’मार्फत परिचालन गरिनेछ। बाँकी रकम विपद्पछिको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको पुनःस्थापनामा उपयोग गर्ने तयारी छ।

विश्व बैंकको सहयोग परिचालनका लागि नेपाल सरकारले आवश्यक औपचारिक प्रक्रिया पूरा गर्नुपर्नेछ। सरकारले संकटकाल घोषणा गरी त्यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरेपछि विश्व बैंकले तत्काल सहयोग परिचालनको प्रक्रिया अघि बढाउनेछ।

भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसपछि विभिन्न क्षेत्रमा देखिएको बाढी–पहिरोले ठूलो जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुर्‍याएपछि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता बढेको हो।

विश्व बैंकको प्रस्तावित सहयोगले तत्कालीन राहत तथा पुनःस्थापनासँगै क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा समेत सरकारलाई आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार