free website hit counter

बिमाको पहुँच बढाउनुपर्नेमा जोड

beemaadmin
२०८० भाद्र १९, मंगलवार

काठमाडौं । आम सर्वसाधारणमा बिमाको पहुँच बढाउन बिमाबारे सचेतना बढाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्। बैंकिङ समाचार डट कम र बिमा प्राधिकरणको सहकार्यमा सोमबार सम्पन्न ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ कार्यक्रममा बिमा शिक्षाको आवश्यकता खट्किएको औंल्याएका थिए। बिमाको पहुँच करिब ४५ प्रतिशत हाराहारीमा पुगेको छ। बिमाको पहुँच सबैक्षेत्रमा नपुगेको भन्दै बिमामा पहुँच बढाउन सबै सरोकारवालाले जोड दिए। कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारसँग जनाताको सुरक्षा गर्ने मात्र नभएर व्यवसाय निर्माण गर्ने दायित्व पनि भएकाले बिमा कार्यक्रमहरूप्रति सकारात्मक हुनुपर्ने बताए। उनले आफू सरकारमा हुँदा स्वास्थ्य बिमा, सवारी साधनमा थर्ड पार्टी इन्स्योरेन्स ल्याएको बताए। पाण्डेले सरकारी होस् वा निजी इन्स्योरेन्स समयानुकूल परिमार्जन हुन नसकेको बताए।

उनले सरकारले इन्स्योरेन्स सम्बन्धी छुट्टै नीति ल्याउनु पर्ने र निजी इन्स्योरेन्स कम्पनीले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए। एकै किसिमको बिमा प्रणाली सबैमा समान तवरले लागु नहुने जनाउँदै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले बिमा वर्ग छुट्याएर गर्नुपर्ने बताए। उनले बिमाबारे थाहा पाइरहँदा यसको फाइदा र बेफाइदाबारे भने जनता बेखबर रहेको बताए। मेयर महर्जनले सरकारले बिमाको छुट्टै नीति ल्याउनुपर्ने औंल्याउँदै नगरपालिकाले बिमा सञ्चालनको लागि निश्चित बजेट छुट्याउन सक्ने बताए। यससँगै उनले परम्परागत बिमा प्रक्रिया तथा प्रणालीलाई अद्यावधिक गर्नुपर्ने पनि बताए।

बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सबैले सुनेको विषय भएको हुनाले यसबारे जानकार नभएका मानिसहरू सायदैे भएको दाबी गरे । उनले मुलुक जोखिमपूर्ण भूभागमा रहेको हुनाले प्राधिकरणले यसलाई कसरी अगाडि लैजाने, यससम्बन्धी कस्ता किसिमका योजना ल्याउने जस्ता कुराहरूमा प्राधिकरणले छलफल गरिरहेको जानकारी गराए। उनले बिमा सचेतनाको कुरा गर्दै गर्दा पहिला स्थानीय तहमा यी कुरा जानकार हुनुपर्ने जनाउँदै प्राधिकरणले हाल दुई सय ५० भन्दा बढी नगरपालिकासँग बिमाबारे छलफल गरेको बताए। अध्यक्ष सिलवालले प्राधिकरण भनेको बिमाको अदालत भएको र त्यो अदालतमा न्यायिक भुक्तानी हुने र बिमाबारे जनताका जुनसुकै कुराको सम्बोधन हुने बताए।

यस्तै नेपाल लाइफ इन्स्योरेन्सका निर्देशक कमलेशकुमार अग्रवालले बिमा कम्पनीले समयमै दाबी भुक्तानी नगर्ने भन्ने कुरामा कुनै सत्यता नभएको बताए। उनले सही कागजात ल्याएर बिमा दाबी भुक्तानी गर्ने कसैले पनि नपाउने भन्ने नभएको दाबी गरे।

निर्देशक यादवले कसैले बिमा दाबी भुक्तान गरेपछि त्यसको उचित छानबिन हुन समय लाग्ने भएको बताउँदै भने, ‘दाबी भुक्तानीको लागि छानबिन त गर्नुपर्र्यो नि १ सही डकुमेन्ट छ भने कम्पनीले सहजै दाबी भुक्तानी गर्छ।’ उनले स्थानीय निकायलाई बिमाको महत्व प्राथमिकतामा ल्याउन संघीय सरकारले राष्ट्रिय बिमा नीति ल्याउनुपर्ने धारण व्यक्त गरे।

कुनै पनि राष्ट्रको आर्थिक विकासमा बिमाक्षेत्रको महत्वपूर्ण भूमिका हुने र सबैक्षेत्रमा हुने जोखिम व्यवस्थापन तथा दुर्घटना तथा भौेतिक क्षति न्यूनीकरण गर्न बिमा आवश्यक भएको उनले बताए। उनले नेपालमा जीवन बिमा वा निर्जीवन जीवन बिमा लामो समयदेखि प्रयास हुँदै आएकोमा आम मानिसमा सकारात्मक प्रचार गर्न समय लागिरहेको बैंकिङ समाचार डट कमका अध्यक्ष राजु ढुंगेलले बताए। यद्यपि पछिल्लो समय धेरै मानिसमा बिमाबारे चेतना वृद्धि भएको देखिएको उनको बुझाइ छ। विद्यमान समस्याका बाबजुद पनि यस क्षेत्रको विस्तार भइरहेको पक्ष सकारात्मक भए पनि जुन गतिमा बिमाक्षेत्रको विकास र विस्तार हुनुपर्ने हो त्यो नभएको उनको धारणा छ।

वर्तमान समयमा मानिसले सञ्चार गर्ने माध्यम बदलिएको र बिमा बजारले बदलिदो समयसँगै परिवर्तित सञ्चार प्रणालीमार्फत सहज सूचना पुर्याउने सवालमा बिमा बजारपछि परेको उनको तर्क छ।

कार्यक्रमलाई चार सत्रमा बाँडिएको थियो। पहिलो सत्रमा बिमा समावेशितामा संघीय सरकार र स्थानीय निकायको सहभागिता भन्ने विषय रहेको थियो। जसमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, गोदाबरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, बिमा प्राधिकरणको अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल लाइफ इन्स्योरेन्सका निर्देशक कमलेशकुमार अग्रवालले छलफल गरेका थिए।

दोस्रो सत्र निर्जीवन बिमाक्षेत्रका चुनौती र यसका आयामहरू भन्ने विषय थियो। यस सत्रमा बिमा प्राधिकरणका सुरेशदेव सुवेदी, नेपाल विमक संघका अध्यक्ष चंकी क्षेत्री, सानिमा इन्स्योरेन्सका सिइओ सुधुम्नप्रसाद उपाध्याय, इन्जिनियर गजेन्द्रकुमार झा रहेका थिए।

तेस्रो सत्रमा नेपाली समाज र अर्थतन्त्रमा जीवन बिमाको प्रभावबारेको अनभिज्ञता भन्ने शीर्षकमा बहस गरिएको थियो। जसमा बिमा प्राधिकरणका निर्देशक पुजन ढुंगेल अधिकारी, सिटिजन लाइफ इन्स्योरेन्सका सिइओ पोषकराज पौेडेल, नेपाल लाइफ इन्स्योरेन्सका सिइओ प्रवीणरमण पराजुली र इन्स्युरेन्स विज्ञ प्रा।डा। फत्तबहादुर केसीले बहस गरेका थिए।

चौथो सत्रमा नेपालमा बिमा कम्पनीहरूको डिजिटाइजेसन भन्ने शीर्षकमा बहस भएको थियो। यस सत्रमा सूर्य ज्योति लाइफ इन्स्योरेन्सका सिइओ प्रकाशविक्रम खत्री, मेट लाइफ इन्स्योरेन्सका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र आरहान्ट सोलुसनका महाप्रबन्धक किशोर दाहालले बहस गरेका थिए।

सम्बन्धित समाचार