free website hit counter

बीमाका उत्पादनलाई प्रविधिमैत्री बनाउनुपर्छ

beemaadmin
२०७६ आश्विन ७, मंगलवार

सोलुखुम्बुमा जन्मिएर मोरङमा हुर्किनुभएका कुमारबहादुर खत्री हाल काठमाडौं टोखाका स्थायी बासिन्दा हुनुहुन्छ । एमबीएसम्मको शिक्षा हासिल गर्नुभएका खत्री दक्षता र विषय विज्ञका हिसावले अझ उच्च हुनुहुन्छ । २०५१ सालबाट बीमा व्यवासयमा प्रवेश गर्नुभएका खत्री नेपाल इन्स्योरेन्समा विकास अधिकृत, त्यसपछि लुम्बिनी जनरलमा नायब महाप्रबन्धक हुँदै अजोड इन्स्योरेन्समा महाप्रबन्धकको जिम्मेवारीमा हुनुहुन्छ । अजोड इन्स्योरेन्सको जिम्मेवारी उहाँले सम्हालेको पहिलो वर्षमै धेरै बीमा शुल्क संकलन गर्न  अजोड इन्स्योरेन्स सफल भयो । बीमा बजारको सम्भावना, चुनौतीलगायतका विषयमा उहाँसँग अर्थबीमा डटकमका सम्पादक नुरराज कँडेलले गर्नुभएको छोटो कुराकानी :

० बैंकहरू मर्फत् बीमा कम्पनीले बिमालेख (बैकोस्योरेन्स) बेच्दै आएकोमा यस वर्षको मौद्रिक नीतिमा सो कार्यलाई निरुत्साहित गरेको छ, त्यसले बीमा कम्पनीहरूमा कस्तो असर पर्ला ?
– जनरल (निर्जिवन बीमा) इन्स्योरेन्समा खास असर पर्दैन । बीमा नगरी बैंकले लगानी नगर्ने हुनाले असर पर्दैन । बैंकसँग ऋण लिँदा जग्गाबाहेक सबैको बीमा गर्दछ । भएका कमी कमजोरी सुधारेर काम गर्न दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

० नेपाली बीमा बजार अझै विस्तार भएको छैन, जीवन बिमाबाहेक नीर्जिवन बिमामा सवारी साधन, घर, आगजनी, पशु, बाली, चोरी, प्राकृतिक प्रकोप, दुर्घटना आदिको विस्तार कस्तो छ ?
– मोटर र सवारी साधनको राम्रै बजार छ । जन चेतनाको कमी धेरै छ । किनकि ०७२ मा त्यति ठूलो भूकम्पीय क्षति हुँदा १४/१५ अर्ब क्षतिपूर्ति सबै बीमकले तिरे । तर हाल घर बीमा प्रतिहजार ४० पैसा वा एक करोडको ४ हजार हुँदा पनि ग्राहकमा आकर्षण देखिएन । जबकि सानो दुर्घटनाले जिन्दगीभरको कमाई स्वाहा भई सडकमा ल्याउँछ ।

० यसको विकल्प के छ त ?
– नेपाल भूकम्पीय जोखिमका दृष्टिले विश्वको ११औं स्थानमा छ । यसलाई केही समय सरकारले अग्रणी भूमिका खेलेर घरबीमा कार्यक्रमलाई कुनै पनि निकायबाट अनिवार्य गर्न जरुरी छ ।

० आम्दानी कम भएको र अर्थतन्त्र फस्टाउन नसकेको वर्तमान अवस्थामा बीमा बजार कसरी बढ्ला ?
– आम्दानी कम भएको होइन, बीमा गर्ने बानी नभएको हो । किनकि बीमा बजार पूरै खाली छ । र, बीमा कम्पनीको उर्वरभूमि नेपाल हो, भविष्य पनि निकै उज्वल छ ।

० बीमा त गर्यो तर दाबी गर्ने प्रक्रिया निकै झन्झटिलो छ भनिन्छ ? कतिपय अवस्थामा त कागजात पुर्याउनै नसकेर बीमा दाबी लिन नसकिने अवस्था छ भनिन्छ नि ?
– आवश्यक पर्ने न्यूनतम कागजात त चाहिन्छ नै । तर साना तिना कागज नहुँदा पनि हामी दाबी भुक्तानी गर्छौं । दुःख दिने हाम्रो कुनै नियत नै हुँदैन । प्राय कुनै पनि बीमकको दाबी प्रक्रिया झन्झटिलो हुँदैन । झन हाम्रो त छँदै छैन । किनकि गत वर्ष ३ सय ३० वटा दाबी पर्दा २ करोड ८५ लाख दाबी भुक्तानी भइसकेको छ । यस आर्थिक वर्षका दुई महिनाभित्रमा ३ सय ३३ दाबीमा ३ करोड ७६ लाख भुक्तानी भइसकेको छ । बाँकी ७१ वटा फाइल लगभग ३ करोड ८१ लाखको दाबी भुक्तानी प्रक्रियामा छ । अझ हाम्रो सवालमा २ लाखसम्मको क्लेम परेमा स्पट पेमेन्ट वा हाम्रा प्रतिनिधिले सिफारिश गरेको आधारमा तुरुन्तै भुक्तानी दिइन्छ । सर्भेयरको आवश्यकता पर्दैन । यस अर्थमा दाबी प्रक्रिया झन्झटिलो भन्न मिल्दैन ।

० जीवन र नीर्जिवन बिमाको चुक्ता पुँजी पुर्याउन हम्मेहम्मे परेको अवस्था छ यस्तो अवस्थामा मर्जरको सम्भावना कत्तिको छ ?
– अजोड इन्स्योरेन्सको पुँजी पुगेको छ । समस्या छैन । यस आर्थिक वर्षमा सबै बीमकको पुँजी पुग्छ जस्तो लाग्छ । हामी ३० करोडको आईपीओ जारी गर्दैछौं । र, पेड अफ क्यापिटल एक अर्ब पु¥याउँछौं । मर्जरको आवश्यकता हामीलाई छैन । तर, नियमक निकायको नीतिमा निर्भर रहन्छ । यदि राष्ट्र बैंकको जस्तो क्रस होल्डिङको कुरा आएमा मर्जरमा पनि जान्छन् होला । तर हामीलाई यो जरुरी नभएकाले सोचिएको पनि छैन ।

० बीमाको बजार सानो छ, नयाँ जीवन बीमा कम्पनीहरू थपिएका छन्, नीर्जिवन बीमा कम्पनी पनि थपिने प्रक्रियामा छन् यस्तोमा अस्वस्थ प्रतिस्पर्धा त बढ्दैन ?
– नयाँ कम्पनी तुरुन्तै आउने सम्भावना छैन । बीमा बजार बढाउने कर्तव्य हामीहरुकै हो । नेपाल सरकार र बीमा समिति पनि बीमा बजारमा सक्रिय नै छ । हामी पनि बीमा बजार बढाउन शहरभन्दा गाउँमुखी हुँदै गएका छौं । जसमा बागलुङको बुर्तिवाङ, गोरखाको पालुङटार पूर्वी रुकुम जस्ता ठाउँहरुमा हामीले शाखा उपशाखा खोलेर सेवा दिएका छौं । र, पनि शहरोन्मुख क्षेत्रमा शाखा विस्तार गर्ने प्रक्रियामा छौं । केही प्रतिस्पर्धा त पक्कै हुन्छ । यसलाई व्यवस्थित गर्नलाई नेपाल बीमक संघको पहलमा आचारसंहिता लागू गरिएको छ । यसले बीमा बजारलाई सकारात्मक दिशा निर्देशन गर्ला भन्ने आशा लिएका छौं ।

० बीमा क्षेत्रमा दक्ष जनशक्तिको खाँचो देखिन्छ, त्यसो हुनुमा मुलुकभित्रै राम्रो तालिमको व्यवस्था नहुुनु हो वा यस क्षेत्रमा उचित प्रतिफल नभएर रोजगारीको आकर्षण नदेखिएको हो ?
– पक्कै पनि दक्ष जनशक्तिको खाँचो छ । तर बैंकपछिको रोजगारीको दोस्रो रोजाईको क्षेत्र बीमा नै हो । दक्ष जनशक्ति उत्पादन गर्न बीमा समितिको पहल तथा अगुवाईमा बीमा तालिम केन्द्र स्थापित भई तालिम शुरु भइसकेको छ । जसले जनशक्ति अभावको पूर्ति गर्ने छ । अबको केही समयभित्र दक्ष जनशक्तिको अभाव नहोला ।

० नेपाली बीमकले विदेशी पुनर्विमा कम्पनीसँग बीमा गर्दा अधिकांश बीमा शुल्क विदेशिने गरेको वर्तमान सन्दर्भमा बीमा गरिएको रकम मुलुकभित्रै राख्न के कस्ता व्यवस्थाहरू हुँदैछन् ?
– पुनर्बीमा सबै देशले आफ्नो देशभित्रको कुनै पनि कम्पनीमा सबै पुनर्बिमा गर्दैनन् । पुनर्बीमा भनेको जोखिमलाई सबैतिर बाँड्ने हो । वा जोखिम सबैलाई दिने हो । तर विदेशी बीमकले पनि नेपालमा पुनर्बीमा गर्ने प्राक्टिस भयो भने बीमा बजारमा आर्थिक सन्तुलन हुन्छ ।

० नेपालमा विदेशी बीमकले पुनर्बिमा गरेका छन् ?
– छ, नेपालमा बीमा शुल्कअन्तर्गत विदेशी मुद्रा भित्रिनेक्रम जारी छ । यहाँ केही कमीकमजोरीले विदेशी बीमकहरु ढुक्क चाहिँ छैनन् । उनीहरुलाई विश्वास दिलाउन सकियो भने पुनर्बीमाको बजार पनि राम्रो छ ।

० बीमा बजार सुरधाका लागि तपाईंको सुझाव के छ ?
– यदि बीमा बजार विस्तार गर्ने नै हो भने पहिला नेपाल सरकारले आफ्नो सम्पत्तिको बीमा गर्नुपर्छ । जसमा भवन, गाडीहरुको बीमा गरी घर बीमालाई अनिवार्य गर्ने पहल हुनुपर्दछ । जस्तै नक्सा पास गर्दा, सम्पत्ति, मालपोत, बहालकर तिर्दा घरबीमा शुल्कलाई छूटसहित समावेश गर्ने हो भने बीमा बजार पक्कै बढ्छ । कृषि र पशुबीमाको अनुदान सरकारले बीमा कम्पनीलाई छिटो बुझाएमा अझ सहज हुन्छ । अहिलेसम्म निकै ढिला गरी भुक्तानी हुने गरेको छ । अनुदान समयमा निकासा हुँदैन, यता दाबी भुक्तानी दिनुपर्ने हुँदा २५ प्रतिशत बीमा शुल्क लिएर पूरै बीमाङ्कको भुक्तानी दिनुपर्छ । यसले गर्दा हामी दोहोरो मारमा छौं । नेपाल बीमक संघले जारी गरेको आचारसंहिता अक्षरस पालना गरी बीमासम्बन्धी प्रचारात्मक कार्यक्रम गरिएमा सकारात्मक सन्देश जान्छ । बीमाका उत्पादनहरुलाई परम्परागत भन्दा प्रविधिमैत्री बनाउनुपर्छ ।

० स्वास्थ्यबीमा गर्दा व्यक्तिगत स्वास्थ्यबीमा सबै बीमकले गर्दैनन् किन होला ?
– जनशक्तिको अभाव, भुक्तानीको प्रक्रिया अस्पताल र बीमा कम्पनीबीच प्रविधिमैत्री भएमा सहज हुन्थ्यो । बीमा ऐन संसदमा थन्किएको छ । यदि त्यो पास भएमा सहज हुन्छ र सबैले गर्न मिल्छ । यससम्बन्धी सफ्टवेयर पनि बन्दैछ । त्यसो हुँदा कसले कति बीमा गरेको छ भन्ने अस्पतालबाटै थाहा हुन्छ ।

० नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले ल्याएको स्वास्थ्य बीमा र अरु बीमकले बेच्ने स्वास्थ्य बीमामा के फरक छ ?
– नेपाल सरकारले ल्याएको त्यो बीमा होइन । स्वास्थ्य कार्यक्रम हो । हामीले बेच्ने चाहिँ बीमा हो । त्यसै कारण बीमा बजारमा स्वास्थ्य बीमा बोर्डको कार्यक्रमले भ्रम पैदा गरेको छ । त्यसको नाम स्वास्थ्य बीमा होइन स्वास्थ्य कार्यक्रम राख्नु पर्दथ्यो । किनकि बीमा भनेको क्षतिहुँदा पूर्ति गर्ने हो । सरकारको बीमा कार्यक्रममा कर्णालीमा स्वास्थ्य बीमा गरेको मान्छे काठमाडौं आएर बीरामी पर्यो भने पहिला बीमा गर्दा उल्लेख गरेको स्वास्थ्य केन्द्र जहाँ हो त्यही पुग्नु पर्दछ । त्यो सम्भावनाको कुरै भएन । यो बीमाको सिद्धान्तमा पनि पर्दैन ।

० बीमक संघले जारी गरेको आचारसंहिता कत्तिको सान्दर्भिक छ ?
– समय सान्दर्भिक भएर नै जारी गरिएको हो ।

० पशु तथा बाली बीमामा कत्तिको आकर्षण देखिएको छ ?
– पशु बीमामा राम्रै आकर्षण छ । बाली बीमामा केही प्रक्रिया झन्झटिला मानिन्छन् । जसमा समय, ज्याला, क्षेत्रफल, लागत, तालिका आदिमा कृषकहरु अनविज्ञ देखिएका छन् । तर समग्रमा व्यवसाय राम्रै छ । पशु बीमाका प्राविधिक प्रशस्तै छन् । तर कृषिप्रधान देश भइकन पनि कृषि बीमामा प्राविधिक कम छन् । सबै प्रक्रिया प्रमाणित प्राविधिकले नै गर्ने हो । सबै मिल्यो भने यसको बजार राम्रो छ ।

० पछिल्लो समयमा आएको अजोड निर्जिबीन कम्पनीको प्रभाव एकै वर्षमा नेपालभर देखियो सफलताको सूत्र के हो ?
– सातै प्रदेशमा आफ्नो शाखा सञ्चालन गरेको छ । गत आ.व.मा शाखा उपशाखा गरी प्रधान कार्यालय अतिरिक्त २९ ठाउँमा विस्तार भइसकेका छन् भने १९ वटा बीमा काउन्टर र एक ग्राहक सेवा केन्द्र स्थापना भइसकेको छ । यो वर्ष भने ९ वटा उपशाखा सञ्चानलमा ल्याउने तयारी भइरहेको छ । गत आ.व. मा ४१ करोड ४५ लाख बीमा शुल्क आर्जन गरी नयाँ बीमा कम्पनीमा अग्रस्थान हासिल गरेका छौं भने यस आ.ब.मा ९० करोडको लक्ष्य लिएका छौं । अजोड इन्स्योरेन्सले छोटो समयमा नै बीमा बजारमा ब्राण्ड इमेज स्थापित गर्न सफल भएको हो । हामीले बीमा सेवालाई प्रविधिमैत्री बनाउँदै लगेको हुनाले ग्राहको आकर्षण र विश्वास बढ्यो । यसैमा हाम्रो सफलता अडेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार