free website hit counter

बीमाको पहुँच बढाउन निर्देशन

beemaadmin
२०८० बैशाख २, शनिबार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि बीमा कम्पनीहरू नवीनतम् प्रविधि र दूरगामी सोचका साथ सकारात्मक रूपले अगाडि बढ्नुपर्ने बताएका छन् । प्राधिकरले आयोजना गरेको नयाँवर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने, बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि प्राधिकरणको मात्र नभई बीमा कम्पनीहरू लगायत सम्बद्ध सबैको साझा प्रयास हुनुपर्छ, बीमा कम्पनीहरू बीमाप्रतिको विश्वास बढ्नेगरी जिम्मेवारी बोधका साथ अगाडि बढ्नुपर्छ, आम नागरिकमा बीमाको पहुँच पुर्‍याउने एकमात्र लक्ष्यका साथ काम गर्नुपर्छ । बीमा क्षेत्रमा प्राप्त उपलब्धीहरूलाई दीगो बनाउने गरी स्वच्छ प्रतिस्पर्धाका साथ बीमा कम्पनीहरू अघि बढ्नुपर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भने, बीमा कम्पनीहरूले बीमाका फाइदाका बारेमा आम जनतालाई बुझाउन सक्नुपर्‍यो, पूँजीको सही परिचालन गर्नुपर्‍यो, सर्वसाधारणले बुझ्ने गरी बीमालेख ल्याउनुपर्‍यो, शाखा तथा उपशाखा कार्यालयहरूलाई अधिकार प्रत्यायोजन गर्नुपर्‍यो, बजार अनुसन्धानमा लगानी गर्नुपर्‍यो, नागरिकले खोजेको परिवर्तन अनुसार अगाडि बढ्नुपर्‍यो । अध्यक्ष सिलवालले आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्नुपर्ने बीमा सम्बन्धी विषयहरूका बारेमा सुझाव दिन आग्रह गर्दै प्राप्त सुझावहरू अर्थ मन्त्रालयमा बुझाइने जानकारी गराए । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्ला वर्षहरूमा बीमाको पहुँच उल्लेख्यरूपले बढ्दै गएर ४४ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा बीमाको पहुँच पुगेको उल्लेख गर्दै बीमा कम्पनीहरूले आम नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार