free website hit counter

बीमा कम्पनीका ५.६५ अर्बको आइपिओ पाइपलाइनमा

beemaadmin
२०७७ मंसिर १३, शनिबार

काठमाडौं । अहिले शेयर बजार निकै जुर्मुराएको छ । शेयर बजारमा आकर्षण बढेसँगै नयाँ लगानीकर्ताहरु हौसिएर भित्रिएका छन् । शेयर बजारभित्र पनि बीमा समूहको आकर्षण बढ्दो छ । बीमा कम्पनीहरुको शेयर नेप्सेलाई टेको दिइरहेको बेला नयाँ बीमा कम्पनीहरुले पनि आइपीओ जारी गर्ने तयारी गरिरहेका छन् । नयाँ बीमा कम्पनीहरुको ५ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी हुने प्रक्रियामा छ । बीमा समितिको प्रावधान अनुसार निर्जीवन बीमा कम्पनीहरुको पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुले भने २ अर्ब रुपैयाँ पुराउँनुपर्नेछ ।

त्यसको लागी कम्पनीहरुले ३० प्रतिशत सेयर सर्वसाधारणको लागी छुट्याउनु पर्ने हुन्छ । नेपालमा अहिले ४० वटा बीमा कम्पनीहरु सञ्चालित छन् । जसमध्ये १० वटा नयाँ जीवन कम्पनी र ३ वटा नयाँ निर्जीवन बीमा कम्पनी सञ्चालित छन् । युनियन, ज्योति, आईएमई, रिलायन्स, रिलायवल, सिटिजन, सानिमा, प्रभु , सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनी हुन् भने सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नयाँ निर्जीवन बीमा कम्पनी हुन् ।

Advertisement
Advertisement

नयाँ बीमा कम्पनी मध्ये अजोड, सानिमा जनरल, जनरल इन्स्योरेन्स कम्पनी नेपाल र रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई शेयर जारी गरिसकेका छन् भने बाँकी ९ वटा नयाँ बीमा कम्पनीहरुले ५ अर्ब ६५ करोड ५० लाखको आइपिओ जारी गर्न बाँकी रहेको छ जसमा सिटिजन लाइफले ७५ करोड, आईएमई लाइफले ६० करोड, ज्योति लाइफले ६६ करोड, महालक्ष्मी लाइफले ६० करोड, प्रभु लाइफले ६० करोड, रिलायवल नेपाल लाइफले ६० करोड, सानिमा लाइफले ६० करोड, सन नेपाल लाइफले ६० करोड र युनियन लाइफले ६४ करोड ५० लाख रुपैंयाको आइपिओ जारी गर्नेछन् ।

Advertisement
Advertisement

आईपिओ जारी भएपछि जीबन बीमा कम्पनीहरु सानिमा, प्रभु , रिलायवल, आईएमई, महालक्ष्मी र सन् नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब पुग्नेछ । त्यसैगरी सिटिजन लाईफ इन्स्योरेन्सको २ अर्ब ५० करोड, ज्योति लाईफको २ अर्ब २० करोड, युनियन लाईफ इन्स्योरेन्सको २ अर्ब १५ करोड रुपैयाँ पूँजी पुग्नेछ। यीमध्ये प्रभु लाइफले नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशनको अनुमति पाइसकेको छ । यही महिनाभित्र आइपीओ जारी गर्न उसले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

सम्बन्धित समाचार