काठमाडौं । नेपाल सरकारको निर्देशनअनुसार नेपाल बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरूलाई हप्तामा दुई दिन बिदा दिने व्यवस्था लागू गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णयअनुसार अब प्रत्येक शनिबार र आइतबार कार्यालय बन्द रहने जनाएको छ।
सूचनाअनुसार अर्को व्यवस्था नभएसम्म सोमबारदेखि शुक्रबारसम्म बीमा कम्पनीका कार्यालयहरू बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि भने आइतबारसहित हप्तामा ६ दिन कार्यालय खुला रहने र शुक्रबार ३ बजेपछि बन्द हुने व्यवस्था थियो।
यसैबीच, नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूका लागि नयाँ कार्यालय समय तोकेको छ। राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार अब ती संस्थाहरू बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन् भने शनिबार र आइतबार बन्द रहनेछन्। यद्यपि, सर्वसाधारणका लागि बैंकिङ सेवा भने बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्र उपलब्ध हुनेछ।
इजरायल र अमेरिकाले इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रबाट इन्धन आयात हुने हर्मुज जलडमरूमध्य अवरुद्ध गरेसँगै विश्वव्यापी इन्धन संकट उत्पन्न भएको छ। यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ। आपूर्ति प्रणाली प्रभावित हुँदा छोटो समयमै पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४० रुपैयाँसम्म बढेको छ, जबकि हवाइ इन्धनको मूल्य अझै बढी वृद्धि भएको छ।
इन्धन खपत घटाउने उद्देश्यले सरकारले आइतबार पनि सरकारी कार्यालय र शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको हो। यस निर्णयअनुसार सोमबारदेखि बिहीबारसम्म दैनिक १ घण्टा र शुक्रबार २ घण्टा कार्यालय समय थपिने भएकाले साप्ताहिक रूपमा कुल ७ घण्टा कार्य समय वृद्धि हुनेछ। यसरी हेर्दा आइतबारको पूरै बिदाको प्रभाव समयको हिसाबले करिब १ घण्टामा सीमित हुने देखिन्छ।