काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) मा बीमा कम्पनीहरूले कुल ९२ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यही अवधिमा बीमा कम्पनीहरूले ७२ अर्ब ९४ करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए।
जीवन बीमा कम्पनीहरूले समीक्षा अवधिमा २ लाख ६५ हजार २०४ वटा दाबीबापत ६६ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा २ लाख ३८ हजार ६०८ वटा दाबीबापत ५२ अर्ब ६४ करोड १८ लाख रुपैयाँ भुक्तानी गरिएको थियो। यस आधारमा जीवन बीमातर्फ दाबी संख्या ११.१५ प्रतिशत र भुक्तानी रकम २६.१७ प्रतिशतले वृद्धि भएको देखिन्छ।
यस्तै, निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ लाख ४० हजार ३५१ वटा दाबीबापत २६ अर्ब ५६ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा १ लाख २७ हजार २८२ वटा दाबीबापत २० अर्ब ३० करोड ३ लाख रुपैयाँ भुक्तानी भएको थियो। यस अवधिमा निर्जीवन बीमातर्फ दाबी संख्या १०.२७ प्रतिशत र भुक्तानी रकम ३०.८४ प्रतिशतले बढेको छ।
प्राधिकरणका अनुसार जेठ मसान्तसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले कुल ४९ अर्ब ४४ करोड १६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ।
जीवन बीमा कम्पनीतर्फ ६० हजार ९५४ वटा दाबीबापत ५ अर्ब ५४ करोड ७१ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ। यो अघिल्लो वर्षको तुलनामा दाबी संख्या १२ प्रतिशत र बाँकी रकम २१.१२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा ५४ हजार ४२२ वटा दाबीबापत ४ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी थियो।
निर्जीवन बीमा कम्पनीतर्फ भने १ लाख १७ हजार १८२ वटा दाबीबापत ४३ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ। यो अघिल्लो वर्षको तुलनामा दाबी संख्या ९.७७ प्रतिशत र बाँकी रकम ४४.१० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा १ लाख ६ हजार ७५७ वटा दाबीबापत ३० अर्ब ४६ करोड १६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको थियो।