काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियालाई थप छिटो, छरितो, सरल र प्रविधिमैत्री बनाइएको जनाएको छ। बीमितले समयमै दाबी भुक्तानी पाउने व्यवस्था सुनिश्चित गर्न नियामकीय तथा नीतिगत सुधारलाई प्राथमिकता दिइएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणले बुधबार सूचना जारी गर्दै नेपालको बीमा क्षेत्रलाई मर्यादित, पारदर्शी, विश्वसनीय तथा बीमितमैत्री बनाउन विभिन्न व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाएको हो।
प्राधिकरणका अनुसार बीमा ऐन, नियमावली तथा प्राधिकरणबाट जारी गरिएका निर्देशिका र परिपत्रले बीमा कम्पनीहरूलाई तोकिएको समयावधिभित्र दाबी फर्छ्योट गर्नुपर्ने व्यवस्था गरेको छ। यसअनुसार बीमा कम्पनीहरूले दाबी भुक्तानी प्रक्रियालाई अनावश्यक रूपमा लम्ब्याउन नपाउने व्यवस्था रहेको छ।
बीमितलाई दाबी भुक्तानी प्रक्रियामा सहज पहुँच उपलब्ध गराउन प्राधिकरणका केन्द्रीय तथा प्रादेशिक कार्यालयमार्फत आवश्यक सहजीकरणसमेत भइरहेको सूचनामा उल्लेख छ। बीमितले दाबी प्रक्रियामा कुनै समस्या भोगेमा सम्बन्धित कार्यालयबाट सहयोग लिन सक्नेछन्।
त्यस्तै, बीमा कम्पनी, कर्मचारी वा सर्भेयरले प्रचलित नीतिगत तथा कानुनी व्यवस्थाविपरीत दाबी भुक्तानीमा ढिलाइ गरेमा वा भुक्तानी नै नगरेमा बीमितले प्राधिकरणमा उजुरी दिन सक्ने व्यवस्था रहेको छ। त्यसका लागि सम्बन्धित दाबीसँग जोडिएका आवश्यक कागजात तथा प्रमाणसहित उजुरी गर्नुपर्नेछ।
यसैगरी, बीमासम्बन्धी गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’ मार्फत प्राप्त हुने उजुरी तथा गुनासोलाई समेत यथाशीघ्र सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।
बीमा क्षेत्रमा दाबी भुक्तानीलाई सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा लिइन्छ। बीमा खरिद गर्दा गरिएको प्रतिबद्धताअनुसार जोखिम परेको अवस्थामा बीमितले समयमै क्षतिपूर्ति पाउनु बीमाप्रतिको विश्वास कायम गर्ने आधार हो। तर, कागजातको अपूर्णता, प्रक्रियागत जटिलता, सर्भेक्षणमा हुने ढिलाइ तथा कम्पनी र बीमितबीचको विवादका कारण कतिपय दाबी भुक्तानी लामो समयसम्म अल्झिने गरेका छन्।
यस्तो अवस्थामा दाबी भुक्तानी प्रक्रियालाई सरल र पारदर्शी बनाउने प्राधिकरणको पहलले बीमितको अधिकार संरक्षण तथा बीमा सेवाप्रतिको विश्वास अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।