काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापाले बीमा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरोकारवालासँग सुझाव मागेका छन्। उनले तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै बीमा क्षेत्रका समस्या र सुधारका विषयमा रचनात्मक सुझाव दिन आग्रह गरेका हुन्।
अध्यक्ष थापाले बीमित, बीमक, बीमा अभिकर्ता, बीमा सर्भेयर, बीमा मध्यस्थकर्ता तथा बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवालालाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
उनले तिहारले सबैको जीवनमा नयाँ आशा र सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गर्दै दीपावलीले आपसी माया, सद्भाव, भाइचारा र पारिवारिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरेका छन्।
अध्यक्ष थापाले गत २०८३ जेठमा खुला आवेदन माग गरी अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसका आधारमा नेपाल सरकार मन्त्रिपरिषद्बाट बीमा ऐन, २०७९ को व्यवस्थाअनुसार आफू प्राधिकरणको अध्यक्षमा नियुक्त भएको उल्लेख गरेका छन्।
नेपाल राष्ट्र बैंकमा विभिन्न तह र जिम्मेवारीमा रहेर करिब ३० वर्ष सेवा गरेको अनुभवसहित सरकारले आफूलाई नयाँ जिम्मेवारी दिएको भन्दै उनले छनोट समिति, अर्थ मन्त्रालय, नेपाल सरकार तथा मन्त्रिपरिषद्प्रति आभार व्यक्त गरेका छन्।
सुधारका लागि सुझाव दिन आग्रह
अध्यक्ष थापाले बीमा क्षेत्रका विद्यमान समस्या, चुनौती, अपेक्षा तथा सुधार गर्नुपर्ने विषयमा सरोकारवालाका धारणा महत्वपूर्ण हुने बताएका छन्।
उनले बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक सुझाव तथा रचनात्मक धारणा प्राधिकरणको आधिकारिक इमेल वा केन्द्रीय कार्यालयमा लिखित रूपमा उपलब्ध गराउन आग्रह गरेका छन्।
सरोकारवालाबाट प्राप्त सुझाव र सहकार्यले बीमा क्षेत्रको विकास तथा सुधारमा महत्वपूर्ण योगदान पुर्याउने उनको विश्वास छ।
अन्त्यमा अध्यक्ष थापाले तिहार, नेपाल संवत् ११४७ र छठ पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि तथा सकारात्मक ऊर्जा प्रदान गरोस् भन्दै पुनः शुभकामना व्यक्त गरेका छन्।