free website hit counter

बीमा र धितोपत्र कसुरमा भट्ट र अग्रवाललाई ताेकियाे धरौटी

beemaadmin
२०८३ श्रावण १, शुक्रबार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले सातादिन लामो सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गर्दै दुवैसँग विभिन्न मुद्दामा करोडौं रुपैयाँ धरौटी माग गरेको हो।

अदालतले बीमासम्बन्धी कसुरमा दीपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ र सुलभ अग्रवालसँग २ करोड रुपैयाँ धरौटी माग गरेको छ।

यस्तै, धितोपत्रसम्बन्धी अर्को कसुरमा सुलभ अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ तथा दीपक भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश भएको छ।

हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर नक्कली असाइनमेन्ट कागजात प्रयोग गरी बिक्री गरेको आरोपसँग सम्बन्धित छुट्टै मुद्दामा अदालतले सुलभ अग्रवालसँग थप २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।

धरौटी आदेश भए पनि भट्ट र अग्रवाल तत्काल रिहा हुने अवस्था भने छैन। उनीहरू सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेकाले हाल कारागारमै रहनेछन्।

यसैबीच, उनीहरूविरुद्ध एमाले उपाध्यक्ष विष्णु पौडेलसँग जोडिएको भनिएको कारोबारसम्बन्धी अर्को मुद्दासमेत बिहीबार दर्ता भएको छ। उक्त मुद्दाको टुंगो भने अदालतको अन्तिम फैसलापछि मात्रै लाग्नेछ।

सम्बन्धित समाचार