free website hit counter

बीमा सर्वेयर संघका सभापति कोइराला निलम्बित

beemaadmin
२०८३ भाद्र २८, आईतवार

काठमाडौं । नेपाल बीमा सर्वेयर संघले संघका सभापति ऋषि कोइरालालाई निलम्बन गरेको छ। संघका सदस्य, सर्वेयर, बीमा कम्पनी तथा अन्य सरोकारवालाबाट प्राप्त लिखित तथा मौखिक गुनासामाथि छलफल गर्दै संघको कार्यसमितिले कोइरालालाई निलम्बन गर्ने निर्णय गरेको हो।

संघका अनुसार प्राप्त गुनासामा उठाइएका विषय प्रारम्भिक रूपमा हेर्दा संस्थागत सुशासन, विधानको पालना तथा पेशागत प्रतिष्ठासँग प्रत्यक्ष सम्बन्धित देखिएका छन्। त्यसैले विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको निष्कर्षसहित कार्यसमितिले छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ।

संघले विधान, २०५९ को दफा ७९(क) र ७९(ग) बमोजिम कोइरालाको साधारण सदस्यता तत्काल प्रभावकारी हुने गरी तथा सभापति पदबाट अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको हो।

निलम्बन अवधिभर कोइरालाले संघको सभापति वा सदस्यको हैसियतमा कुनै पनि निर्णय गर्न, पत्राचार गर्न, संघको प्रतिनिधित्व गर्न वा सार्वजनिक अभिव्यक्ति दिन नपाउने व्यवस्था गरिएको संघले जनाएको छ।

कोइरालाको निलम्बनपछि संघको दैनिक कार्यसञ्चालन, बैंक खाता तथा अभिलेख र छापसम्बन्धी जिम्मेवारी उपसभापति भानु कँडेलले सम्हाल्ने व्यवस्था गरिएको छ।

एक महिनाभित्र छानबिन प्रतिवेदन

संघले उठेका विषयमा निष्पक्ष छानबिन गर्न सचिव लोचन केन्द्र देवकोटाको संयोजकत्वमा तीन सदस्यीय स्वतन्त्र छानबिन समिति गठन गरेको छ।

समितिले सम्बन्धित पक्षसँग लिखित स्पष्टीकरण माग गर्नुका साथै सफाइको पूर्ण अवसर दिनेछ। आवश्यक प्रमाण तथा तथ्य संकलन गरी समितिले एक महिनाभित्र कार्यसमितिसमक्ष प्रतिवेदन पेस गर्नेछ।

छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि कार्यसमितिले संघको विधानअनुसार आवश्यक अन्तिम निर्णय गर्ने जनाएको छ। संघका अनुसार छानबिनबाट आरोप पुष्टि नभएको ठहर भएमा कोइरालामाथिको निलम्बन स्वतः फुकुवा हुनेछ।

‘निलम्बन आरोप पूर्वनिर्णीत भएको होइन’

संघले कोइरालामाथि गरिएको निलम्बनलाई कुनै पनि आरोप प्रमाणित भइसकेको अर्थमा नलिन स्पष्ट पारेको छ। निष्पक्ष र प्रभावकारी छानबिन सुनिश्चित गर्नका लागि निलम्बनलाई प्रक्रियागत व्यवस्थाका रूपमा अघि बढाइएको संघको भनाइ छ।

संघले संस्थागत सुशासन, पारदर्शिता, सामूहिक निर्णय प्रणाली तथा सर्वेयर पेशाको मर्यादा कायम गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

त्यस्तै, नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, बीमा कम्पनी तथा सम्बन्धित सरोकारवाला निकायलाई छानबिन प्रक्रियामा आवश्यक सहयोग गर्न संघले आग्रह गरेको छ। आधिकारिक सूचनाबाहेकका विषयमा भ्रमित नहुनसमेत संघले सबैलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार