जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म बीमितहरूलाई १ खर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ७ करोड ८२ लाख रुपैयाँ बराबरको बीमालेख धितो कर्जा वितरण गरेका हुन् ।
गत आर्थिक वर्षको यही अवधिमा यस्तो कर्जा ९५ अर्ब २ करोड ५९ लाख रुपैयाँ रहेको थियो । यस आधारमा बीमितलाई प्रवाह गरिएको कर्जा ५.३२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
जीवन बीमा गर्ने बीमितहरूले आफूले तिरेको बीमा शुल्कबाट बनेको ‘सरेन्डर भ्यालु’ अर्थात् समर्पण मूल्यको आधारमा बीमा कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था छ । आकस्मिक आर्थिक आवश्यकता परेमा बीमितहरूले आफ्नो बीमालेख धितो राखेर कर्जा प्राप्त गर्न सक्छन् ।
चैत्र मसान्तसम्म सबैभन्दा धेरै बीमालेख धितो कर्जा प्रवाह गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स बनेको छ । कम्पनीले ३६ अर्ब १ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा यसको कर्जा प्रवाह ०.५८ प्रतिशतले घटेको छ । गत आवको यही अवधिमा कम्पनीले ३६ अर्ब २२ करोड २० लाख रुपैयाँ कर्जा दिएको थियो ।
दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ । कम्पनीले समीक्षा अवधिसम्म २० अर्ब ४२ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको कर्जा प्रवाह ६.३९ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा कम्पनीले २१ अर्ब ८१ करोड ७३ लाख रुपैयाँ कर्जा दिएको थियो ।
तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १३ अर्ब २५ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको कर्जा प्रवाह गत आवको तुलनामा ८.९० प्रतिशतले बढेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सले ८ अर्ब ५४ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको कर्जा प्रवाह १०.३१ प्रतिशतले बढेको हो ।
त्यस्तै, एशियन लाइफले ५ अर्ब २७ करोड ७७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब १३ करोड १३ लाख रुपैयाँ तथा सानिमा रिलायन्स लाइफले १ अर्ब ८३ करोड रुपैयाँ बराबरको बीमालेख धितो कर्जा प्रवाह गरेका छन् ।
गत आवको तुलनामा एशियन लाइफको कर्जा ३.८६ प्रतिशत, सूर्यज्योति लाइफको १६.८३ प्रतिशत तथा सानिमा रिलायन्सको २६.४१ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले पनि २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
त्यसैगरी, मेट लाइफले १ अर्ब ७८ करोड १८ लाख रुपैयाँ कर्जा वितरण गरेको छ । यद्यपि, कम्पनीको कर्जा प्रवाह अघिल्लो आवको तुलनामा ३.१९ प्रतिशतले घटेको छ ।
चैत्रसम्म प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४५ करोड रुपैयाँ, आईएमई लाइफले १ अर्ब २३ करोड रुपैयाँ, सिटिजन्स लाइफले १ अर्ब १७ करोड रुपैयाँ, सन नेपाल लाइफले ७९ करोड रुपैयाँ तथा रिलायबल नेपाल लाइफले ६३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बीमालेख धितो कर्जा बीमितका लागि आकस्मिक आर्थिक आवश्यकता पूरा गर्ने सहज माध्यम मानिन्छ । बीमा कम्पनीहरूले सामान्यतः बीमालेखको समर्पण मूल्यको निश्चित प्रतिशतसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेका छन् ।
कसकाे ऋण प्रवाह कति ?
