free website hit counter

भट्ट र अग्रवालसहित ४ जनाविरुद्ध ४२ करोडभन्दा बढी बिगो दाबी

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहित चार जनाविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता गरिएको छ।

उच्च अदालत पाटनको वाणिज्य इजलासमा बिहीबार दर्ता गरिएको मुद्दामा दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाइएको छ। उनीहरूमाथि कुल ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै कानुनी कारबाहीको माग गरिएको छ।

Advertisement
Advertisement

अनुसन्धान अनुसार प्रतिवादीहरूले बैंक तथा वित्तीय संस्थाबाट निश्चित उद्देश्यका लागि लिएको कर्जा सोही प्रयोजनमा प्रयोग नगरी अन्यत्र दुरुपयोग गरेको आरोप लगाइएको छ।

Advertisement
Advertisement

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार १० करोडदेखि ५० करोड रुपैयाँसम्मको बिगो भएको कसुरमा दोषी ठहर भए ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय, बिगो बराबरको जरिवाना तथा क्षतिपूर्ति असुल गर्ने व्यवस्था रहेको छ।

मुद्दाका प्रतिवादीमध्ये दीपक भट्ट र सुलभ अग्रवाल हाल प्रहरी हिरासतमा रहेका छन्। शाहिल अग्रवाल र शंकरलाल अग्रवाल भने फरार रहेकाले उनीहरूलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ।

सीआईबीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा दीपक भट्ट, सुलभ अग्रवाल र शाहिल अग्रवाललाई मुख्य कसुरदारका रूपमा उल्लेख गरिएको छ भने शंकरलाल अग्रवालमाथि कसुरमा सहयोग गरेको आरोप लगाइएको छ।

प्रहरी स्रोतका अनुसार यी व्यवसायीहरूमाथि बैंकिङ कसुरबाहेक अन्य गम्भीर आर्थिक तथा वित्तीय अपराधसम्बन्धी विषयमा समेत थप अनुसन्धान भइरहेको छ। अनुसन्धानको निष्कर्षका आधारमा अन्य मुद्दा दर्ता हुने सम्भावना पनि रहेको जनाइएको छ।

सम्बन्धित समाचार