free website hit counter

भड्किला बन्दैछन् चाडपर्वहरु, हराउँदै संस्कृति

beemaadmin
२०८१ भाद्र १५, शनिबार

पुर्खाले बचाएर राखेको संस्कृतिलाई बचाएर पछिल्लो पुस्तालाई पुस्तान्तरण गर्ने दायित्वबाट अहिलेको पुस्ता विचलित भएको छ । सबैजसो चाडपर्वका मौलिकता हराउँदै गएका छन् भने गरिखाने वर्गका लागि चाडपर्व बोझ बन्दै गएका छन् । देखासिकीका नाममा चाडपर्वलाई भड्किलो बनाउने काम अहिले हुने खानेले मात्रै होइन हुँदा खानले पनि बनाउन थालेका छन् ।
मान्छे जतिसुकै आधुनिक भए पनि जन्मजातै लिएर आएको कला र संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने गरिन्छ । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्काे विशेषता बन्दैछ । तीजमा गीत–संगीतको विशेष महत्व रहन्छ । महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् ।
पछिल्लो समय धेरै नै भड्किलो बनेको एउटा पर्व हो तीज । महिलाहरुले आफ्नो बेदना साटासाट गर्ने र वर्खा सकेर माइती भेट्ने पर्वलाई अहिले एक डेढ महिनाका लागि भोज भतेरको पर्व बन्दै गएको छ । तीजको दर भनेको ब्रत बस्ने दिनलाई शरीर दह्रो बनाउनलाई राति खाइने परिकार हो । जसमा लट्टे, चाम्रे, खिर, तरकारी, फलफुल लगायतका साकाहारी भोजन पर्दछन् । तर तीज आउन एक डेढ महिना अघिदेखिनै पार्टी प्यालेस, होटल, रेष्टुराँ, पार्क कब्जा गरेर मनाइने तीजले कतै तीजको मर्म त भुलेको छैन भन्ने प्रश्न उठ्न थालेको छ । हिजोआज स्कुल, कलेज, संघ संस्था हरेक ठाउँमा तीजका कार्यक्रम हुने गरेका छन् ।
तीजको अर्को महत्वपूर्ण पक्ष भनेको महिलाका बेदना पोखिने गीत संगीत हो । तर आजभोलि तीजका गीतमा महिलाका बेदना होइन संवेदनशील अंगहरु प्रदर्शन गर्ने गरिन्छ । हरेक चाडपर्वलाई त्यसको मौलिकता अनुसार मनाउँदै लगियो भने त्यसको अर्थ रहन्छ । तर अनेक बहाना बनाएर महिनौ लम्ब्याउन थालियो भने कुनै पनि पर्वको महत्व रहने छैन ।
तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार