काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बाँकी रहेको दाबी रकममध्ये १० देखि १२ अर्ब रुपैयाँ आगामी भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र दीगो बनाउन आवश्यक सुधारका काम अघि बढाइएको जानकारी दिए।
उनका अनुसार गत आर्थिक वर्ष स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत करिब २४ देखि २५ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ। अझै करिब १५ अर्ब रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेकामा आवश्यक रुजु प्रक्रिया पूरा गरी भदौभित्र १० देखि १२ अर्ब रुपैयाँ उपलब्ध गराउने लक्ष्य राखिएको छ।
सरकारले स्वास्थ्य बीमाको खर्चलाई प्रभावकारी बनाउन निजी अस्पतालतर्फको निर्भरता घटाउँदै सरकारी अस्पतालको सेवा सुधारमा जोड दिने नीति लिएको छ।
मन्त्रालयका अनुसार बीमा सेवाग्राहीमध्ये करिब ७ प्रतिशत मात्र निजी अस्पतालमा उपचार गराउन जाने भए पनि बीमा कार्यक्रमको झण्डै एक चौथाइ खर्च त्यही क्षेत्रमा हुने गरेको छ। यसलाई सन्तुलनमा ल्याउन सरकारी स्वास्थ्य संस्थाको सेवा क्षमता विस्तार गर्ने तयारी गरिएको छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई दीगो बनाउन सरकारले सहभागिता विस्तार गर्ने योजना पनि अघि सारेको छ। औपचारिक क्षेत्रमा कार्यरत कर्मचारीको तलबबाटै स्वास्थ्य बीमाको प्रिमियम कट्टी गर्ने तथा विपन्न नागरिकको प्रिमियम सरकारले व्यहोर्ने व्यवस्था लागू गर्ने तयारी भइरहेको सचिव देवकोटाले बताए।
यस व्यवस्थाबाट वार्षिक २ देखि ३ अर्ब रुपैयाँ थप संकलन हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, स्वास्थ्य बीमा ऐन संशोधन गरी स्थानीय तहका आधारभूत अस्पतालबाट सामान्य स्वास्थ्य परीक्षण र होलबडी चेकअप निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न पनि सरकार अघि बढेको छ।