free website hit counter

भारत ‘ए’ र पाकिस्तान ‘ए’सँग खेल्ने नेपाली टोली सार्वजनिक

beemaadmin
२०८३ मंसिर १, सोमबार

काठमाडौं । कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।

नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले सन्दीपको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ। घोषित टोलीमा सन्दीपसँगै बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिशेष गौतम, राशिद खान, लोकेश बम र नन्दन यादव रहेका छन्।

Advertisement
Advertisement

नेपाल कठिन समूहमा

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। यस समूहमा नेपालसँगै भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन्।

Advertisement
Advertisement

त्यस्तै, समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन्।

प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्नो ‘ए’ टोली सहभागी गराउनेछन्। नेपाल, यूएई र हङकङले भने राष्ट्रिय सिनियर टोलीसमेत सहभागी गराउन पाउने व्यवस्था छ। यूएईले यसअघि नै दोस्रो रोजाइको टोली घोषणा गरिसकेको छ।

नोभेम्बर २० मा भारतसँग पहिलो खेल

नेपालले प्रतियोगिताको पहिलो खेल नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्नेछ। त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ।

समूह चरणका खेलपछि दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल नोभेम्बर २९ मा हुनेछ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएको हो। प्रिमियर कपमा दोस्रो भएको यूएई र तेस्रो स्थान हासिल गरेको हङकङले पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्।

सन्दीपको कप्तानीमा मैदान उत्रने नेपाली टोलीका लागि भारत ‘ए’ र पाकिस्तान ‘ए’ जस्ता बलिया टोलीसँगको प्रतिस्पर्धा आफ्नो क्षमता परीक्षण गर्ने महत्वपूर्ण अवसर हुनेछ।

सम्बन्धित समाचार