काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी परेको छ। तर, ठूलो रकमको दाबी परे पनि बीमा कम्पनीहरूले हालसम्म २३ करोड ५२ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा दुई हजार ४२७ बीमितबाट प्रारम्भिक दाबी परेको हो। बाढीबाट भएको क्षतिबापत अनुमानित दाबी रकम २० अर्ब ९० करोड रुपैयाँ पुगेको छ। यसमध्ये हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी भएको छ, जुन कुल अनुमानित दाबी रकमको तुलनामा निकै कम हो।
एकपछि अर्को प्राकृतिक विपत्तिका कारण बीमा कम्पनीहरू आर्थिक दबाबमा पर्दै आएका छन्। बाढीबाट भएको ठूलो क्षतिको दायित्वसँगै नेपालमा रहेका दुई पुनर्बीमा कम्पनीलाई अनिवार्य रूपमा व्यवसाय दिनुपर्ने व्यवस्थाले पनि बीमा क्षेत्रको दबाब बढाएको सरोकारवालाहरूको भनाइ छ। जोखिम अन्तर्राष्ट्रिय बजारमा समेत बाँड्न सकिने अवस्था भए बीमा कम्पनीहरूको दायित्व व्यवस्थापनमा सहज हुने थियो। तर नियामकीय व्यवस्थाका कारण जोखिम बाँडफाँटको विकल्प सीमित हुँदा कम्पनीहरू थप दबाबमा परेको देखिन्छ।
पुनर्बीमा कम्पनीहरू पनि प्राकृतिक विपत्ति र राजनीतिक अस्थिरताका कारण सिर्जना हुने जोखिमबाट अछुतो छैनन्। बीमा दाबी बढ्दै जाँदा प्रत्यक्ष बीमकसँगै पुनर्बीमा क्षेत्रमाथि पनि वित्तीय दबाब बढ्ने अवस्था छ।
हिमालयन एभरेष्टमा सबैभन्दा बढी प्रारम्भिक दाबी
बीमा कम्पनीहरूमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा बढी रकमको प्रारम्भिक दाबी परेको छ। कम्पनीमा १६१ बीमितबाट ६६ करोड ११ लाख ९५ हजार रुपैयाँको अनुमानित दाबी परेको छ।
त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्समा १९२ बीमितको ३४ करोड ३२ लाख ४५ हजार रुपैयाँ र शिखर इन्स्योरेन्समा ४५९ बीमितको २६ करोड ५५ लाख ८६ हजार रुपैयाँको दाबी परेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २२९ बीमितको १७ करोड ५८ लाख १४ हजार रुपैयाँ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २६६ बीमितको १२ करोड ५३ लाख ८९ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको प्राधिकरणको विवरणमा उल्लेख छ।
भुक्तानीतर्फ भने शिखर इन्स्योरेन्स अगाडि देखिएको छ। कम्पनीले हालसम्म १९ करोड ८९ लाख तीन हजार रुपैयाँ भुक्तानी गरेको छ। त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सले एक करोड ४९ लाख ६२ हजार रुपैयाँ, आईएमई प्रुडेन्सियल इन्स्योरेन्सले एक करोड १६ लाख ५३ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६७ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेका छन्।
सम्पत्ति बीमामा सबैभन्दा बढी रकमको दाबी
बीमालेखको प्रकारअनुसार हेर्दा सम्पत्ति बीमामा सबैभन्दा बढी रकमको प्रारम्भिक दाबी परेको छ। यस शीर्षकमा ५७२ बीमितबाट ९५ करोड ७१ लाख ९८ हजार रुपैयाँको दाबी परेको छ। त्यसमध्ये हालसम्म आठ करोड ६२ लाख ८३ हजार रुपैयाँ भुक्तानी भएको छ।
इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाअन्तर्गत १७४ बीमितको ४३ करोड ९७ लाख २६ हजार रुपैयाँको दाबी परेको छ। यस शीर्षकमा हालसम्म ३० लाख रुपैयाँ भुक्तानी भएको छ।
मोटर बीमाअन्तर्गत सबैभन्दा धेरै एक हजार ६८ बीमितबाट २८ करोड ५० लाख ३४ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ। यसमध्ये छ करोड सात लाख ४४ हजार रुपैयाँ भुक्तानी गरिएको छ।
परिवहन बीमामा १०६ बीमितबाट २३ करोड ४० लाख ५९ हजार रुपैयाँको दाबी परेकोमा सात करोड ८२ लाख ७२ हजार रुपैयाँ भुक्तानी भएको छ। अन्य बीमाअन्तर्गत ४५५ बीमितको १५ करोड १० लाख तीन हजार रुपैयाँको दाबी परेको छ भने ७६ लाख ३० हजार रुपैयाँ भुक्तानी गरिएको छ।
त्यस्तै, स्वास्थ्य बीमाअन्तर्गत ५२ बीमितबाट दुई करोड ३९ लाख १४ हजार रुपैयाँको अनुमानित दाबी परेको छ। तर, यस शीर्षकमा हालसम्म भुक्तानी भएको रकम प्राधिकरणको विवरणमा उल्लेख छैन।
प्राधिकरणले असोज २८ गतेसम्म प्राप्त गरेको विवरणले बाढीबाट भएको क्षतिका कारण बीमा क्षेत्रमा ठूलो दायित्व सिर्जना भएको देखाउँछ। प्रारम्भिक दाबी र भुक्तानीबीचको ठूलो अन्तरले क्षतिको मूल्याङ्कन, दाबी प्रमाणीकरण र भुक्तानी प्रक्रिया कति अघि बढेको छ भन्ने विषयलाई पनि महत्त्वपूर्ण बनाएको छ। यद्यपि, प्रारम्भिक दाबीको रकम अन्तिम दायित्व होइन; क्षतिको मूल्याङ्कन र दाबी प्रमाणीकरणपछि भुक्तानीको वास्तविक अवस्था स्पष्ट हुनेछ।