काठमाण्डौ । अमेरिकाले नेपाली नागरिकलाई समेत आफ्नो बी–१÷बी–२ पर्यटक र व्यावसायिक भिसा आवेदन प्रक्रियामा नयाँ नियम अन्तर्गत धरौटी (भिसा बन्ड) राख्नुपर्ने व्यवस्था गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जनवरी २१ देखि लागू हुने गरी नेपाललाई भिसा बन्ड कार्यक्रमको सूचीमा समावेश गरेको हो।
नयाँ नियमअनुसार, भिसा अन्तर्वार्ता दिने बेला कन्सुलर अफिसरले आवेदकको आर्थिक स्थिति, अमेरिका भ्रमणको उद्देश्य र फर्किने सुनिश्चितता हेरेर धरौटी रकम तोक्नेछन्। धरौटी रकम न्यूनतम ५ हजार अमेरिकी डलरदेखि अधिकतम १५ हजार अमेरिकी डलरसम्म राखिने छ। रकम सिधै आधिकारिक पोर्टलमा मात्र जम्मा गर्नु पर्नेछ । कुनै पनि एजेन्ट वा तेस्रो पक्षलाई रकम नबुझाउन समेत अमेरिकी सरकारले चेतावनी दिएको छ। यससँगै, भिसा बन्ड भएका आवेदकले अमेरिका प्रवेश र बहिर्गमनका लागि तीन विमानस्थलमा मात्र प्रयोग गर्न सक्नेछन् । जसमा न्यूयोर्कको जोन एफ केनेडी, वाशिङ्टन डीसीको डुलेस, र बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । यी बाहेक अन्य विमानस्थल प्रयोग गरेमा धरौटी जफत हुने र भविष्यमा अमेरिका प्रवेशमा रोक लगाउन सकिने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ। धरौटी फिर्ता हुने प्रक्रिया पनि कडा शर्तमा आधारित हुनेछ। भिसा म्याद भित्र अमेरिका छोडे, भिसाको शर्त पालन गरे, र तोकिएका तीन विमानस्थलबाट बाहिरिएमा मात्र रकम फिर्ता हुनेछ। तर, भिसा उल्लंघन वा असाइलम दाबी गरेमा धरौटी जफत हुने व्यवस्था रहेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार, यो कदम समयमै फर्कने नीति पालन नगर्ने देशका नागरिकलाई लक्षित गरी लागू गरिएको पाइलट प्रोग्रामको हिस्सा हो। नेपालसँगै बंगलादेश, भुटान, नाइजेरिया, भेनेजुएला लगायत ३८ देश यस कार्यक्रममा राखिएका छन्।