काठमाडौं । नेपालमा भूकम्पीय जोखिम व्यवस्थापनका लागि निर्जीवन बीमा कम्पनीहरूले स्थापना गरेको भूकम्पीय प्रिमियम जगेडा कोषमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म कम्पनीहरूले उक्त कोषमा ४५ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम संचित गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा झण्डै १२० प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले भूकम्पीय प्रिमियम जगेडा कोषमा २० करोड ७९ लाख रुपैयाँ मात्र छुट्याएका थिए।
तथ्यांकअनुसार भूकम्पीय जोखिमका लागि सबैभन्दा धेरै जगेडा रकम नेको इन्स्योरेन्सले राखेको छ। कम्पनीले अघिल्लो वर्षको तुलनामा २७५ प्रतिशतले वृद्धि गर्दै जगेडा कोष २ करोड ७५ लाख रुपैयाँबाट बढाएर ७ करोड ९१ लाख रुपैयाँ पुर्याएको छ।
दोस्रो स्थानमा रहेको प्रभु इन्स्योरेन्सले पनि उल्लेखनीय वृद्धि गरेको छ। कम्पनीको भूकम्पीय जगेडा कोष अघिल्लो वर्षको तुलनामा २४४ प्रतिशतले बढेर ३ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी एनएलजी इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। कम्पनीले आफ्नो भूकम्पीय प्रिमियम जगेडा कोष १४९ प्रतिशतले वृद्धि गरेको छ।
यद्यपि, नेपालको सबैभन्दा पुराना निर्जीवन बीमा कम्पनीमध्ये पर्ने नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने समीक्षा अवधिसम्म भूकम्पीय प्रिमियम जगेडा कोषमा कुनै रकम छुट्याएका छैनन्।
नेपालजस्तो उच्च भूकम्पीय जोखिम भएको मुलुकमा बीमा कम्पनीहरूले सम्भावित प्राकृतिक विपद्बाट उत्पन्न दाबी भुक्तानीको जोखिम व्यवस्थापन गर्न यस्तो जगेडा कोष बढाउँदै लगेका छन्। यसले भविष्यमा ठूलो भूकम्पका कारण आउने बीमा दाबी व्यवस्थापन गर्न कम्पनीहरूको वित्तीय क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।