काठमाडौं । ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै बैंकले विपद्मा परेका नागरिकलाई तत्काल राहत र दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागेको जनाएको छ ।
बैंकका अनुसार सहयोगबाट बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावित परिवारलाई खाद्यान्न तथा अस्थायी बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुग्नेछ ।
बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । साथै, राष्ट्रिय संकट तथा प्राकृतिक विपद्का समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग गर्दै आएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले यसअघि पनि बाढी, पहिरो, भूकम्प तथा महामारीलगायतका विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ । बैंकले हाल ७७ वटै जिल्लामा ३४१ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा तथा विभिन्न सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।