free website hit counter

भोटेकोशी बाढी प्रभावित बीमितलाई ६ महिनासम्म ब्याज छुट

beemaadmin
२०८३ आश्विन १९, सोमबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित बीमितलाई राहतस्वरूप ६ महिनासम्म बीमा ब्याज छुट दिन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले बाढी तथा पहिरोबाट प्रभावित बीमितका लागि नवीकरण बीमाशुल्क भुक्तानी गर्ने म्यादसमेत ६ महिना थप गर्न निर्देशन दिएको छ। बीमालेख साथमा नभएका कारण बीमाशुल्क वा बीमालेख कर्जाको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था भएमा पनि ६ महिनासम्म ब्याज नलाग्ने गरी भुक्तानीको म्याद थप गर्न भनिएको छ।

प्राधिकरणका अनुसार यस्तो सुविधा लिन सम्बन्धित बीमित वा उनका परिवारजनले स्थानीय तह, प्रहरी कार्यालय वा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिश पेश गर्नुपर्नेछ।

बाढी तथा पहिरोका कारण बीमा कम्पनीमा रहेका बीमासम्बन्धी कागजात नष्ट भएको अवस्थामा बीमितले आवश्यक विवरण उपलब्ध गराएर अभिलेख अद्यावधिक गर्न सहयोग गर्नुपर्ने प्राधिकरणले जनाएको छ। बीमालेख हराएको वा नष्ट भएको अवस्थामा बीमकले निःशुल्क रूपमा बीमालेखको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।

भोटेकोशी नदीबाट सुरु भएर त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिएको बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखासहित पाँच जिल्ला प्रभावित भएका थिए।

बाढीका कारण सडक सम्पर्क टुटेर विभिन्न स्थानमा फसेका हजारौं नागरिकको उद्धार गरिएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएकामध्ये विदेशी नागरिकसमेत रहेका छन्।

यस्तै, त्रिशूली जलविद्युत् आयोजना–३ ए को सुरुङबाट दुई जना तथा त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङबाट एक चिनियाँ नागरिकसहित तीन जनाको जीवितै उद्धार गरिएको थियो।

प्राधिकरणका अनुसार बाढीपहिरोमा परी अझै ठूलो संख्यामा मानिस बेपत्ता छन् भने प्रभावित क्षेत्रबाट १ हजार ३ सयभन्दा बढी शव निकालिएको विवरण सार्वजनिक गरिएको छ।

सम्बन्धित समाचार