free website hit counter

मकालु वाइन इन्डस्ट्रिजले आईपीओ जारी गर्ने तयारी

beemaadmin
२०८३ जेष्ठ २८, बिहीबार

काठमाडौं । नेपालको पहिलो वाइन उद्योगका रूपमा परिचित मकालु वाइन इन्डस्ट्रिज लिमिटेड ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको जनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड लाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा मकालु वाइन इन्डस्ट्रिजका अध्यक्ष पिताम्बर पोख्रेल तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे ले हस्ताक्षर गरेका छन्।

Advertisement
Advertisement

वि.सं. २०५२ सालमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ मा स्थापना भएको मकालु वाइन इन्डस्ट्रिजले विगत ३१ वर्षदेखि अर्गानिक वाइन उत्पादन गर्दै आएको छ। कम्पनीले समुद्री सतहबाट करिब २ हजार ८ सय मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंशेलुबाट ‘हिंवा वाइन’ उत्पादन गर्दै आएको जनाएको छ।

Advertisement
Advertisement

आधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय वाइन उत्पादन गर्दै आएको कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ। कम्पनीमा देवश्री भेन्चर, हारभेस्ट भेन्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्ट लगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ।

कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ।

आईपीओ निष्काशनसँगै नेपालको अर्गानिक वाइन उद्योगलाई पूँजी बजारसँग जोड्ने महत्वपूर्ण कदमका रूपमा यसलाई हेरिएको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक संस्था रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड ले नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निष्काशन तथा बिक्री व्यवस्थापन, शेयर रजिस्ट्रेशन, योजना व्यवस्थापन, डिपोजिटरी सेवा तथा संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमति प्राप्त गरेको मर्चेन्ट बैंकिङ संस्था हो।

सम्बन्धित समाचार