free website hit counter

मञ्जुश्री फाइनान्सको वितरणयोग्य मुनाफा ३० करोड नाघ्यो

beemaadmin
२०८३ बैशाख ९, बुधबार

काठमाडाैं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनामा फाइनान्सले २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यही अवधिको १७ करोड ११ लाख रुपैयाँभन्दा २७.९३ प्रतिशतले बढी हो।

खुद ब्याज आम्दानीमा वृद्धि र इम्पेयरमेन्ट चार्जमा कमी आउँदा नाफा बढ्न सहयोग पुगेको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १०.२४ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २.९५ प्रतिशतले वृद्धि भएको छ। साथै, कुल सञ्चालन आम्दानी १०.१५ प्रतिशत र सञ्चालन मुनाफा १०.२९ प्रतिशतले बढेको छ। इम्पेयरमेन्ट चार्ज भने १४ करोड ५४ लाख रुपैयाँबाट घटेर ११ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।

चैत मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ३० करोड ५४ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १३ पैसा रहेको छ।

त्यस्तै, प्रतिशेयर आम्दानी पनि वृद्धि भई ४ रुपैयाँ ७१ पैसाले बढेर २१ रुपैयाँ ६० पैसा पुगेको छ। सो अवधिमा मूल्य आम्दानी अनुपात ३८.८४ गुणा र प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २० पैसा रहेको छ।

१ अर्ब ३५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा १ अर्ब ११ करोड ९ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा कम्पनीले २२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

सम्बन्धित समाचार