free website hit counter

ममता काफ्ले हत्या प्रकरण : डीएनए, सीसीटीभी र झुटो बयानले कसरी दोषी ठहरिए नरेश ?

beemaadmin
२०८३ कार्तिक २६, बुधबार

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्षभन्दा बढी भइसकेको छ। उनको शव अझै फेला पर्न सकेको छैन। तर, करिब ६ सातासम्म चलेको सुनुवाइपछि भर्जिनियाको जुरीले मंगलबार उनका पति नरेश भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अपमान गरेको तीनवटै कसुरमा दोषी ठहर गरेको छ।

मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले प्रस्तुत गरेका फरेन्सिक प्रमाण, निगरानी क्यामेराका दृश्य तथा फोन र सवारीसाधनका अभिलेखले नरेशविरुद्धको अभियोग पुष्टि गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।

Advertisement
Advertisement

सुनुवाइको अन्तिम चरणमा नरेश स्वयं साक्षीका रूपमा अदालतमा उपस्थित भएका थिए। उनले ममताको शव टुक्राटुक्रा पारेर फालेको स्वीकार गरे पनि उनको हत्या गरेको आरोप भने अस्वीकार गरेका थिए। ममताले आत्महत्या गरेको र आफूले घरभित्र मृत अवस्थामा भेटेपछि शव व्यवस्थापन गरेको उनको दाबी थियो।

Advertisement
Advertisement

जुरीसमक्ष मुख्य प्रश्न ममताको मृत्युको कारण र त्यसमा नरेशको संलग्नता थियो। अन्ततः उपलब्ध प्रमाण र बयानका आधारमा जुरीले उनलाई तीनवटै कसुरमा दोषी ठहर गर्‍यो।

डीएनए परीक्षणदेखि सीसीटीभी फुटेजसम्मका प्रमाण

अभियोजन पक्षले अदालतमा विभिन्न फरेन्सिक परीक्षणका नतिजा, निगरानी क्यामेराका दृश्य तथा डिजिटल अभिलेख प्रस्तुत गरेको थियो। तीमध्ये आराको भित्री भागबाट संकलन गरिएको नमुनाको डीएनए ममताको डीएनए प्रोफाइलसँग मेल खाएको तथ्य महत्त्वपूर्ण प्रमाणका रूपमा आएको थियो।

त्यस्तै, दम्पतीको सुत्ने कोठामा रहेको कार्पेटमा देखिएको दागको नमुनामा ममता र उनकी छोरीको डीएनए मिसिएको हुन सक्ने आधार फरेन्सिक विज्ञहरूले प्रस्तुत गरेका थिए। यद्यपि, प्रतिरक्षा पक्षले उक्त परीक्षणबाट कार्पेटमा रगत कसरी पुगेको हो भन्ने स्पष्ट नहुने तर्क गरेको थियो।

ममता बेपत्ता भएको आसपासका दिनमा नरेशले फोहोर राख्ने झोला तथा सरसफाइका सामग्री खरिद गरेको दृश्य पनि अदालतमा देखाइएको थियो। निगरानी क्यामेरामा उनी विभिन्न फोहोर संकलनस्थलमा झोला फाल्दै गरेको देखिएका थिए।

नरेशले ती झोलामा ममताका व्यक्तिगत सामान रहेको दाबी गरेका थिए। तर, जिरहका क्रममा उनले ममताका आफन्त, साथीभाइ, छिमेकी र प्रहरीसमक्ष घटनाबारे झुटो बोलेको स्वीकार गरेका थिए।

काममा अनुपस्थित भएपछि सुरु भएको थियो खोजी

ममता भर्जिनियास्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। सन् २०२४ अगस्ट १ मा उनी नियमित काममा उपस्थित नभएपछि सहकर्मीहरूले उनको अवस्थाबारे चासो व्यक्त गरेका थिए।

त्यसपछि प्रहरी ममता र नरेश बस्दै आएको घरमा पुगेको थियो। नरेशले सुरुमा आफूले ममतालाई जुलाई २९ मा अन्तिमपटक देखेको बताएका थिए। उनले ममता घर छाडेर जान चाहेको र सम्बन्धविच्छेदको विषयमा समेत कुरा भएको दाबी गरेका थिए।

नरेशले अगस्ट ५ मा मात्रै ममता हराएको औपचारिक उजुरी दिएका थिए। तर, सानी छोरीलाई घरमै छाडेर ममता कसैलाई जानकारी नदिई बेपत्ता भएको परिवार तथा साथीहरूले विश्वास गरेका थिएनन्।

घटनाको अनुसन्धान अघि बढाउँदै प्रहरीले सन् २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो।

मार्च १२ मा सजाय निर्धारण हुने

तीनवटै कसुरमा दोषी ठहर भएका नरेशलाई सन् २०२७ मार्च १२ मा सजाय सुनाउने मिति तोकिएको छ। प्रथम श्रेणीको हत्यामा उनलाई २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्छ। त्यस्तै, शव लुकाएको र शवको अपमान गरेको कसुरमा प्रत्येकमा पाँच वर्षसम्म थप कैद हुन सक्नेछ।

जुरीको फैसला सार्वजनिक भएपछि ममताका साथीभाइ तथा स्थानीय नेपाली समुदायका सदस्यहरू अदालतबाहिर भेला भएका थिए। उनीहरूले फैसलालाई न्यायको दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

यद्यपि, यस मुद्दाको सबैभन्दा पीडादायी पक्ष अझै बाँकी छ। ममताको शव कहाँ छ भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन। परिवारले उनको अन्तिम संस्कारसमेत गर्न पाएको छैन। अदालतबाट हत्या मुद्दाको फैसला आए पनि ममताको शवको खोजी र परिवारले भोगिरहेको अनिश्चितताको अन्त्य हुन सकेको छैन।

सम्बन्धित समाचार