free website hit counter

महामारीमा बरालिएको सरकार

beemaadmin
२०७७ बैशाख १७, बुधबार

मुलुुक चैैत ९ गतेदेखि लगातार लकडाउनको अवस्थामा छ । लकडाउनका कारण सारा नागरिकको जनजीवन प्रभावित भएको बेलामा सरकार भने जनतालाई थुनेर फोहोरी राजनीतिमा उत्रिएको छ । कोरोनो भाइरस नियन्त्रण र रोकथामका लागि सारा ध्यान त्यतै केन्द्रीत गर्नुपर्ने बेलामा सरकारले पछिल्लो एक सातादेखि आफ्नो ध्यान सरकार टिकाउने खेलतर्फ मोडेको छ ।

पार्टीभित्रको गुटगत भाडभैलोको व्यवस्थापन गर्नमै प्रधानमन्त्री तथा सरकारका प्रतिनिधि तथा पार्टीका नेताहरुको ध्यान केन्द्रीत हुँदा कोरोना नियन्त्रणका लागि भइरहेका पछिल्ला प्रयासहरु निष्प्रभावित देखिन थालेका छन् । अहिले सरकार र सम्पूर्ण राजनीतिक दलको ध्यान नेपाललाई कोरोना मुक्त बनाउने अभियानमा हुनुप्र्थो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादी सोच र चिन्तनकै कारण उनी आफ्नो रक्षाका लागि सम्पूर्ण शक्ति केन्द्रीत गर्न लागेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय आवश्यकता विपरित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश र संवैधानिक पषिद्सम्बन्धी अध्यादेश ल्याएपछि राजनीतिक माहौल निकै तात्न पुग्यो । सरकारकै मन्त्रीहरुको विरोध, सत्तारुढ दलकै नेताहरुको चर्को असन्तुष्टि र विपक्षी राजनीतिक दलहरुको मोर्चाबन्दीका कारण पाँच दिनमै उक्त अध्यादेश फिर्ता लिए पनि मुलुकको राजनीति अझै सङ्लिन सकेको छैन ।

अध्यादेशकै कारण मधेशवादी राजनीतिक दलहरुबीचको टुटफुट र एकीकरणको प्रकरण र सांसद अपहरणसम्मको अवस्थाले गर्दा नेकपाभित्रको राजनीतिमा अरु बिग्रह थप्ने काम गरेको छ । पछिल्ला एक हप्ताभित्र भएका राजनीतिक घटनाक्रमले ओली नेतृत्वको सरकारको चरम बदनाम गराउने काम गरेको छ । सरकार गठनभएदेखि अहिलेसम्मको अवधिमा यी घटनाक्रमले प्रधानमन्त्री ओलीलाई चरम रक्षात्मक अवस्थामा पुर्याएको छ । पार्टीभित्रै चर्को विरोधको सामना गरिरहेका ओलीलाई विपक्षी दलहरुले पनि यही बीचमा मोर्चाबन्दी गर्नु र सामाजिक सञ्जाल पनि सरकारकै विपक्षमा देखिनुले ओली नेतृत्वको सरकारको दिनगन्ती समेत शुरु भएको छ ।

पार्टीभित्रैबाट राजीनामाको चर्को आवाज उठ्नुले पनि ओलीप्रति नेकपाका नेताहरु नै सकारात्मक छैनन् भन्ने देखाउँछ । कोरोना प्रकरणले मुलुकको राजनीतिक धु्रवीकरण र समिकरण गराउने काम गरेको छ । राजपा र संघीय समाजवादीको एकता, काँग्रेस नेतृत्वमा सरकारविरुद्धको मोर्चाबन्दी, नेकपाकै नेताहरुबीचको शक्ति संंघर्ष र गुटको राजनीतिले गर्दा मुलुकको राजनीति अर्कै बाटोमा जान लागेको त होइन भन्ने आशंका जन्माएको छ । सरकार र राजनीतिक दलहरुको ध्यान अहिले कोरोना नियन्त्रणका लागि केन्द्रीत हुनु पर्दथ्यो तर राष्ट्रिय आवश्यकता र जनताको चाहना विपरित सत्तारुढ गुट र सत्ताको रक्षामा लाग्नु दुःखद पक्ष हो ।

मुुलुकमै लामो समयपछि पहिलोपटक स्थिर र स्पष्ट बहुमतको सरकार गठन भएपछि आम नागरिक निकै आशावादी थिए । राजनीतिक परिवर्तनपछि मुलुकले आर्थिक विकासमा फड्को मार्ने अपेक्षा गरिए पनि ओली नेतृत्वको सरकारले दुई वर्षको अवधि पूरा गरिसक्दा पनि जनचाहना अनुसारको काम गर्न सकेको छैन । आफ्नै गुट र केही सल्लाहकारको साँघुरो घेरामा रहेका प्रधानमन्त्री ओलीले आफूले अघि सारेको समृद्ध मुलुक बनाउने नारा नारामै सीमित हुन पुगेको छ । राज्यको ध्यान कोरोना नियन्त्रण र जनजीवन सामान्य बनाउने विषयमा केन्द्रीत हुनु पर्दथ्यो । कोरोनालाई नियन्त्रणमा लिएपछि थिलथिलो बनेको मुलुकको आर्थिक, सामाजिक, रोजगारी, पर्यटन लगायतका क्षेत्रलाई कसरी सक्रिय बनाउने बन्ने विषयमा योजना बनाउन अहिलेदेखिनै शुरुवात हुनुपर्दथ्यो ।

नेपालको संविधानले जेठ १५ गतेभित्रै आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । बजेट ल्याउनुअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । हिउँदे अधिवेशनलाई कोरोनाकै कारणले हतारहतारमा अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउने कुनै सुरसार गरेको छैन । यतिसम्मकी नीति तथा कार्यक्रम र बजेटको तयारीमा पनि सरकारले गति लिन सकेको छैन । अहिलेको परिस्थिति विगतको जस्तो छैन । कोरोनाका कारण सरकारको नीति तथा कार्यक्रम र बजेटको प्राथमिकता परिवर्तन हुने अवस्था आएको छ । यस्तो अवस्थामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र विज्ञहरुको सुझाव र सल्लाहमा नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका बारेमा छलफल गर्न सरकारले अहिलेसम्म आवश्यक ठानेको छैन ।

जेठ १५ आउन एक महिना मात्रै बाँकी छ । जेठ १५ अघि नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भई पारित भइसक्नु पर्ने अवस्था छ । त्यसपछि मात्रै सरकारले बजेट पेशगर्न पाउँछ । विगतको परम्परा हेर्ने हो भने अहिले बजेट निर्माणको चटारो भइसक्नु पर्ने बेला हो तर अहिले सरकार सत्ताकै सुरक्षामा केन्द्रीत छ । एकातिर कोरोनाको नियन्त्रणका लागि भइरहेका प्रयासलाई प्रभावकारी बनाउनुपर्ने दायित्व छ भने अर्कोतर्फ आगामी बजेटमार्फत् देशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा ध्यान केन्द्रीत गर्नुपर्ने अवस्था छ । तर यी दुवै कर्तव्यबाट च्यूत भएको सरकारले जनताका सामान्य जनजीविकाका सवालमा पनि खेलवाड गरिरहेको छ ।

लकडाउनका कारण श्रमिक तथा मजदुरको चुल्हो बल्यो कि बलेन भनेर चिहाउनु पर्ने सरकार कुन गुटको भेलामा कुन कुन नेता सहभागी भए भन्ने कुरामा चियो गर्नमै व्यस्त छ । लकडाउनका कारण आम नागरिक विभिन्न स्थानमा फसेका छन् । ती नागरिकहरुको उद्दारका लागि संघीय सरकारले कुनै चासो नदिएपछि स्थानीय सरकारहरुले गरिरहेको प्रयासलाई प्रोत्साहन गर्नुको सट्टा भाँजो हाल्ने काम भइरहेको छ ।

संघीय सरकारका मन्त्रीहरुले आ–आफ्नो क्षेत्रका नागरिकहरुलाई मात्र उद्धार गरिरहेको अवस्थामा सरकार सबै नागरिकको अभिभावक बन्न नसक्नु दुखद पक्ष हो । यस्तो अवस्थामा केही स्थानीय सरकारहरुले आफ्नो क्षेत्रका नागरिकहरुलाई उद्दार गर्ने प्रयास थाले । त्यो प्रयासलाई संघीय सरकारले सहयोग गर्नुपर्नेमा उल्टै भाँजो हाल्न खोज्दा उद्दारका प्रयासहरु प्रभावकारी बन्न सकेका छैनन् ।

बिराटनगर महानगर नेतृत्वको सहयोग र पहलमा सोमबार मात्र काठमाडौं पठाइएका नागरिकहरु थानकोटमा अलपत्र पारिनु र अन्य जिल्लाबाट काठमाडौं आइपुगेका नागरिकहरुलाई नागढुंगामै र त्यहाँबाट फिर्ता गर्ने आदेश दिनुले सरकार कति गैर जिम्मेवार छ भन्ने देखाउँछ । राहत र उद्दारमा विभेदकारी नीति अख्तियार गरेको सरकारले न्यूनतम मानवीय भावना समेत दर्शाउन सकेको छैन । काठमाडौंबाट हजारौं नागरिकलाई बाहिरन जान स्वीकृति दिने सरकारले काठमाडौं भित्रिनेको हकमा भने दोहोरो चरित्र देखाउनु आपत्तिजनक विषय हो । महामारीका बेला मुलुकभित्रका सबै शक्तिलाई एकीकृत बनाएर राहत, उद्दार र उपचारमा केन्द्रीत गर्नुपर्ने सरकार आफैं संकटमा फसेको छ । औषधि, उपकरण खरिदमा भएका अनियमितता र भ्रष्टाचारले नांगिएको सरकार पछिल्लो फोहोरी राजनीतिक खेलका कारण झनै नांगिन पुगेको छ ।

यस्तो अवस्थामा सरकारले कि आफूलाई सच्याउनुपर्छ कि ठाउँन ओगट्ने काम गर्नु हुँदैन । सरकार साँँच्चै सच्चिने हो भने सबै राजनीतिक शक्तिहरुलाई विश्वासमा लिएर प्रदेश र स्थानीय सरकारहरुसँग समन्वय गर्दै महामारी नियन्त्रण, उद्धार र राहतको कार्यमा प्रभावकारी रुपमा जुट्नुपर्छ । यही नै अहिले मुलुकको माग र आवश्यकता हो ।

(लेखक नेपाल तरुण दलका पूर्व कार्यवाहक अध्यक्ष तथा काँग्रेसका युवा नेता हुनुहुन्छ)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार