free website hit counter

माइक्रो इन्स्योरेन्स र अन्य बीमकहरुको क्षेत्र नै फरक छ

beemaadmin
२०७९ कार्तिक २०, आईतवार

बीमा उद्योगमा ६ दशक बिताइसक्नुभएका भोजराज शर्मा यस क्षेत्रमा परिचित नाम हो भने यस क्षेत्रको सुधारका लागि केही गर्न सक्ने व्यक्तित्व पनि हुनुहुन्छ । वरिष्ठ बीमा विज्ञ शर्मा यतिबेला इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको प्रमुख कार्यकारी अधिकृतको रुपमा हुनुहुन्छ । दक्ष जनशक्ति अभाव नै बीमा क्षेत्रको प्रमुख समस्या रहेको बेला शर्माले इन्स्योरेन्स इन्ष्टिच्यूट स्थापना गरेर यस क्षेत्रको समस्यामाथि सम्बोधन गर्नुभएकै हो । कोभिड महामारीले विश्व अर्थतन्त्र धरासायी भएका बेला पनि दक्ष जनशक्ति उत्पादनमा उनको यात्रा अनवरत थियो । विज्ञ शर्मासँग अर्थबीमाले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

० कोरोना महामारी पछि इन्स्योरेन्स इन्ष्टिच्यूट नेपालको गतिविधि कस्तो छ ?
कोभिडभन्दा पहिले यस संस्थामा तालिमको गतिविधि राम्रै चलेको थियो । इन्स्यारेन्स इन्ष्टिच्यूट अफ इन्डियाले अफलाइन तालिम दिँदै आएकोमा कोभिडकै कारण हाल त्यो तालिम स्थगित भएको छ । त्यसपछि हामीले आफ्नै पहलमा अनलाइन तालिम दिने व्यवस्था मिलायौं । यसको प्रत्यक्ष फाइदा भनेको जताततैबाट इच्छुक व्यक्तिहरु सहभागी हुन पाए । त्यही बेला पुर्नबिमा कम्पनीका व्यक्तिहरुलाई १५ दिन अनलाइन, १५ दिन अफलाइन तालिम दिइएको थियो । जसमा व्यवसायिक रुपले विभिन्न विभागका व्यक्तिहरुलाई बीमा क्षेत्रको सुशासनका बारेमा तालिम दिइयो । यसैबीचमा धनगढी लगायत उपत्यका बाहिरका विभिन्न क्षेत्रमा गई अभिकर्ताहरुलाई पनि रिफ्रेसमेन्ट (पुनर्ताजगी) तालिम दिइयो । अब हामी सातै प्रदेशमा तालिम दिने व्यवस्था मिलाउँदैछौं । उक्त तालिम बजार व्यवस्थापन, मानव संशाधन, जोखिमाङ्कन लगायतका विविध विषय समेटिने छन् ।

० आगामी योजना के छ ?
निकट भविष्यमा हामी विश्वविद्यालयसँग सम्बन्धन लिएर बीमासम्बन्धी स्नातक र स्नातकोत्तरसम्मको पढाई शुरु गर्दैछौ भने पेशागत उपाधिमूलक कोर्ष योजना ल्याउनेका साथ काम अघि बढिसकेको छ । त्यसका लागि विविध क्षेत्रहरुको अध्ययन गर्ने काम पनि भइरहेको छ ।

० संस्थाको आर्थिक उपलब्धी कस्तो छ ?
यस संस्थाको उद्देश्य नाफा कमाउने भन्दा पनि दक्ष जनशक्ति उत्पादन गर्ने हो । त्यसो त विविध खर्च खटाएर हामी फाइदामै छौं ।

० बीमा अभिकर्ताको इजाजत लिन तालिमपछि पनि परीक्षामा पास हुनुपर्ने व्यवस्था बीमा समितिले गर्दैछ, यसलाई कसरी लिनु भएको त ?
अभिकर्ता भनेको दक्ष, परिपक्व र उत्पादनको ज्ञान भएको हुनुपर्दछ । बीमक र बीमा व्यवसायसम्बन्धी प्राय सबै ज्ञान जरुरी हुन्छ । त्यसैले तालिमपछि परीक्षामा ६० प्रतिशत अंश ल्याई उत्तीर्ण हुनेलाई मात्रै अभिकर्ताको इजाजत दिन खोजिएको हो । सो समितिमा म आफैं पनि छु । ड्राफ्ट बीमा समितिलाई बुझाइएको छ, सम्भवतः महिनादिनभित्र त्यो नियम लागू हुन्छ ।

० भएका कम्पनीलाई मर्जरमा पठाएर माइक्रो इन्स्योरेन्सको लाइन्स खोलिएको छ, यसलाई तपाईंले कसरी लिनुभएको छ ?
माइक्रो इन्स्योरेनस र अन्य बीमकहरुको क्षेत्र नै फरक छ । माइक्रो भनेको ग्रामीण र न्यून आय भएका ग्राहकमुखी हुन्छन् भने बीमकहरु व्यापारिक हुन्छन् । त्यसैले बीमक थपिएको भन्न मिल्दैन । किनकि माइक्रोको बीमाङ्क रकम र दर रेट नै थोरै हुन्छ भने आम्दानी पनि कम नै हुन्छ । करिब करिब माइक्रो फाइनान्ससँग मिल्दोजुल्दो हो ।

० माइक्रो इन्स्योरेन्सको दायरा के छ ?
यो पछि निर्देशिकाले नै तोकिदिन्छ ।

० जोखिमाङ्कनको प्रमुख पक्ष के हो ?
जब बीमा प्रस्ताव आउँछन् ती सबै बीमा योग्य नहुन सक्छन् । र, दररेट, अवधि पनि फरक हुन सक्छ । ‘जोखिमाङ्कन भनेको बीमा गर्नका लागि आएको प्रस्ताव बीमा गर्ने वा नगर्ने, गर्ने भए कुन दररेट र शर्तमा गर्ने भन्ने प्रक्रियालाई भनिन्छ ।’ यसको प्रमुख पक्ष भनेको जीवन बीमामा व्यक्तिगत स्वास्थ्य, पारिवारिक इतिहास, आर्थिक पक्ष, आयश्रोत र पेशाको आधार मूख्य हुन्छ ।

० अन्त्यमा केही भन्नु छ ?
अझै बीमा चेतनाको कमी हाम्रो समाजमा छ । बीमा हरेक व्यक्तिलाई आवश्यक छ । सर्वसाधारणले पनि आफ्नो क्षमता अनुुसारको जीवन र भौतिक सम्पत्तिको बीमा गरी आर्थिक सुनिश्चितता कायम गर्नुपर्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार