free website hit counter

माउन्ट एभरेष्ट पावरको आईपीओ सर्वसाधारणका लागि असार ३ गतेदेखि खुल्ने

beemaadmin
२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड ले सर्वसाधारण लगानीकर्ताका लागि असार ३ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ।

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ८ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ७२ हजार कित्ता शेयर यसअघि नै निष्काशन तथा बाँडफाँट गरिसकिएको छ।

Advertisement
Advertisement

त्यसैगरी ३४ हजार ४०० कित्ता शेयर कर्मचारीहरूका लागि तथा ८६ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो।

Advertisement
Advertisement

अब दोस्रो चरणअन्तर्गत बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरहरूको कुल मूल्य १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबर हुनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा असार ८ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा असार १७ गते निष्काशन बन्द हुनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्स नेपाल ले कम्पनीलाई ‘CARE-NP BB+ Issuer Rating’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना को कुल लागत करिब २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २८ वर्ष ९ महिना बाँकी छ। साधारण लगानी फिर्ता अवधि ६.४० वर्ष तथा डिस्काउन्टेड पेब्याक अवधि ८.९४ वर्ष रहेको उल्लेख गरिएको छ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर प्रयोग गरेर अनलाइन आवेदन पनि दिन सकिने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार