free website hit counter

मेयरसा’बकाे धन्दाले परे फन्दामा

beemaadmin
२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। प्रहरीले उनलाई पर्साको ठोरी क्षेत्रबाट बिहीबार बिहान नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार विशेष सूचनाको आधारमा सञ्चालन गरिएको अपरेशनमार्फत ठोरी क्षेत्रमा लुकीछिपी बसिरहेका सिंहलाई पक्राउ गरिएको हो।

जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको आठ दिनपछि सिंह प्रहरी नियन्त्रणमा आएका हुन्। अदालतबाट पक्राउको अनुमति जारी भएपछि उनी सम्पर्कविहीन भएका थिए।

मेयर सिंहमाथि अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा जन्मदर्ता गराएको, त्यसकै आधारमा नागरिकता र राहदानी बनाइ विदेश पठाएको आरोप लागेको छ।

उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले गरेको अनुसन्धानपछि सिंहसहित चार जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो। अदालतले उनीहरूविरुद्ध क्रमशः सात दिन र ३५ दिन म्यादको पक्राउ पुर्जी जारी गरेको थियो।

प्रहरीका अनुसार अदालतमा उपस्थित हुनुपर्ने समयमा अनुपस्थित भएपछि सिंह फरार भएका थिए। लामो खोजीपछि उनलाई ठोरी क्षेत्रबाट पक्राउ गरिएको हो।

मुलुकी अपराध संहिता, २०७४ को किर्ते सम्बन्धी दफा २७६ को उपदफा (१), (२) र (३)(ग) अनुसार सरकारी वा सार्वजनिक लिखत किर्ते गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

सम्बन्धित समाचार