काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र स्विट्जरल्यान्डबीच भएको क्वार्टरफाइनल खेलका क्रममा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र पोर्चुगिज रेफ्री जोआओ पेड्रो पिनहेइरोबीच भएको संवाद अहिले सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ।
रोमाञ्चक प्रतिस्पर्धामा स्विट्जरल्यान्डले १० खेलाडीमा सीमित रहेर पनि अर्जेन्टिनालाई निर्धारित समयभर कडा चुनौती दिएको थियो। खेलको ७२औँ मिनेटमा एक खेलाडी गुमाएको स्विट्जरल्यान्डले खेललाई अतिरिक्त समयसम्म पुर्याउन सफल भएको थियो।
खेलको पहिलो हाफमा अर्जेन्टिनाले रक्षात्मक पर्खाल तयार गरिरहेका बेला रेफ्री पिनहेइरोले मेस्सीलाई आवश्यक दूरी कायम गर्न निर्देशन दिएका थिए। यही क्रममा दुवैबीच केहीबेर भनाभन भएको दृश्य टेलिभिजन क्यामेरामा कैद भएको थियो।
भिडियोमा मेस्सीले रेफ्रीलाई सम्मानजनक व्यवहार गर्न आग्रह गर्दै, “मसँग राम्रोसँग बोल्नुहोस्, मेरो अनादर नगर्नुस्,” भनेको देखिन्छ। फ्रिकिक सम्पन्न भएपछि पनि मेस्सी पुनः रेफ्रीकहाँ गएर आफूले सम्मानपूर्वक कुरा गरेको उल्लेख गर्दै सोही अनुरोध दोहोर्याएको भिडियो सार्वजनिक भएको छ।
यद्यपि, उक्त घटनापछि रेफ्रीले कुनै अनुशासनात्मक कारबाही गरेनन्। खेल भने अर्जेन्टिनाले आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।
को हुन् जोआओ पेड्रो पिनहेइरो?
पोर्चुगलको भिला नोभा डे फमालिकाउमा जन्मिएका ३८ वर्षीय जोआओ पेड्रो पिनहेइरो युरोपका अनुभवी रेफ्रीमध्ये एक मानिन्छन्। उनले सन् २०१५ मा पोर्चुगलको शीर्ष डिभिजनमा रेफ्रीका रूपमा डेब्यु गरेका थिए भने एक वर्षपछि फिफाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका थिए।
पिनहेइरोले यूईएफए च्याम्पियन्स लिग, युरोपा लिग तथा २०२५ यूईएफए सुपर कपलगायतका प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको जिम्मेवारी सम्हालिसकेका छन्। निरन्तर उत्कृष्ट प्रदर्शनका आधारमा उनी फिफा विश्वकप २०२६ का लागि छनोट भएका रेफ्रीमध्ये एक हुन्।