free website hit counter

याम्बालिङ्ग हाइड्रोपावरकाे आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ७, सोमबार

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले बैशाख १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ।

कम्पनीले कुल ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ७ लाख कित्ता स्थानीय बासिन्दाका लागि र २ लाख १० हजार कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि छुट्याएर वितरण गरिसकिएको छ। साथै, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कर्मचारीका लागि पनि बाँडफाँट भइसकेको छ।

Advertisement
Advertisement

अब दोस्रो चरणअन्तर्गत कम्पनीले १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो।

Advertisement
Advertisement

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति छिटोमा बैशाख २२ गते र ढिलोमा बैशाख ३० गतेसम्म तोकिएको छ।

कम्पनीले केयर रेटिङ्ग नेपालबाट ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम संकेत गर्छ।

याम्बालिङ्ग खोलामा निर्माण गरिएको ७.२७ मेगावाट क्षमताको जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रहेको छ। प्रति मेगावाट लागत करिब २५ करोड ७३ लाख रुपैयाँ छ। आयोजनाको विद्युत उत्पादन अनुमति अवधि अझै २५ वर्ष ६ महिना बाँकी छ। लगानी फिर्ता हुने सामान्य अवधि १०.७६ वर्ष र छुट दर (डिस्काउन्ट) सहितको अवधि १९.८७ वर्ष रहेको छ।

यस आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू वा तिनका शाखामार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिन्छ।

सम्बन्धित समाचार