काठमाडौं । भारतको मध्य प्रदेशस्थित डिन्डोरी जिल्लामा साथीले रसबरी भन्दै दिएको घरेलु बम चपाउँदा विस्फोट भएर एक जनाको मृत्यु भएको छ। घटनामा ३५ वर्षीय राजेन्द्र बरौतियाको ज्यान गएको हो।
प्रहरीका अनुसार नोभेम्बर १० मा पडरिया छाँटा गाउँमा भएको घटनामा राजेन्द्रलाई उनका छिमेकी तथा साथी रामभगत सिंहले रसबरी भन्दै जंगली सुँगुर मार्न प्रयोग गरिने घरेलु विस्फोटक पदार्थ दिएका थिए। मुखमा राखेर चपाउनेबित्तिकै उक्त वस्तु विस्फोट भएको थियो।
विस्फोटबाट गम्भीर घाइते भएका राजेन्द्रलाई परिवारले अस्पताल पुर्याए पनि उपचारका क्रममा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामभगत सिंहसहित दुई जनालाई पक्राउ गरेको छ। अर्का आरोपीले जंगलमा उक्त विस्फोटक फेला पारेर रामभगतलाई दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
आँगनमा आगो तापिरहेका बेला घटना
प्रहरीका अनुसार घटनाको समयमा राजेन्द्र परिवारका सदस्यसँग घरको आँगनमा आगो तापिरहेका थिए। त्यही बेला छिमेकी रामभगत त्यहाँ पुगेका थिए। कुराकानी र हाँसोठट्टाका क्रममा उनले राजेन्द्रलाई सानो बलजस्तो वस्तु दिँदै रसबरी भएको बताएका थिए।
राजेन्द्रकी पत्नी सुशीलाका अनुसार उक्त वस्तु मुखमा राखेर चपाउनासाथ विस्फोट भएको थियो। विस्फोटबाट उनको अनुहार र बंगारामा गम्भीर चोट लागेको थियो। तत्काल अस्पताल पुर्याइए पनि उनलाई बचाउन सकिएन।
जंगली सुँगुर मार्न प्रयोग हुने विस्फोटक
प्रहरीका अनुसार जंगली सुँगुर मार्न प्रयोग गरिने यस्ता घरेलु विस्फोटक खानेकुराजस्तो देखिने वस्तुभित्र लुकाएर राख्ने गरिन्छ। जनावरले चपाउँदा विस्फोट हुने भएकाले यस्ता पदार्थ अत्यन्त जोखिमपूर्ण मानिन्छन्।
प्रहरीले घटनास्थलबाट विस्फोटकका अवशेष संकलन गरी परीक्षणका लागि फरेन्सिक प्रयोगशालामा पठाउने तयारी गरेको छ। प्रारम्भिक अनुसन्धानमा मृतक र पक्राउ परेका व्यक्तिबीच पुरानो रिसइबी रहेको तथ्य फेला नपरेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध भारतीय न्याय संहिताको धारा १०५ तथा विस्फोटक पदार्थ ऐनको धारा ३ र ४ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ।