free website hit counter

रातारात किन छिरे प्रधानन्यायाधीश बालुवाटार ?

beemaadmin
२०७७ बैशाख १७, बुधबार

हिजो राती साँढे नौको हाराहारीमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जंगबहादुर राणा प्रधानमन्त्री निवासमा छिरे । सामान्यतयाः औपचारिक कार्यक्रममा बाहेक प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटघाट हुँदैन । त्यसमा पनि निवासमा आउजाउ त कानुनी र लोकतान्त्रिक समाजको परिकल्पना भन्दा टाढाको विषय हो । हालको कोरोना महामारी, त्यसमा पनि उच्चस्वास्थ्य सतर्कतामा बसेका प्रधानमन्त्रीले अनावश्यक विषयमा भेटघाट गर्ने सम्भावना लगभग शून्य छ ।

हुन त तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी पनि मन्त्रीपरिषद्को अध्यक्ष बन्ने सल्लाहको सिलसिलामा प्रधानमन्त्री निवासमा छिरेको विषयले लामो समयसम्म चर्चा पाएको थियो । त्यसबेला दुबै निवासको बँगैचातर्फको भागमा राखिएको सानो ढोकाबाट प्रधानन्याधीश छिरेका थिए ।

विकसित राजनीतिक घटनाक्रमसँगै संसद विघटनको चर्चाले बजार गर्माएको बेला भएको उक्त भेटलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् । यतिखेर नेपालको संविधान २०७२ छ, तर २०४७ सालको संविधान दिमागमा राखेकाले नै संसद विघटनको चर्चा चलाएको हुनसक्ने एकथरीको विश्लेषण रहेको छ । वर्तमान संविधानमा बहुमतप्राप्त दलको प्रधानमन्त्रीलाई रहर वा सनक चल्दैमा संसद विघटन गर्नसक्ने अधिकार छैन । संसदले नयाँ प्रधानमन्त्री चयन गर्न नसकेको अवस्थामा पनि विभिन्न चरण र लामो प्रक्रियापछि मात्र संसद विघटन गर्न सकिने व्यवस्था संविधानमा गरिएको छ ।

विगतमा बहुमतप्राप्त प्रधानमन्त्रीले पनि आफ्नो स्वार्थपूर्तिको लागि संसद विघटन गरेर राजनीतिक अस्थिरता उत्पन्न गराउने प्रवृत्ति देखाएकाले हालको संविधानमा लामो व्यवस्था गरिएको कानुनविद्हरू बताउँछन् । तसर्थ, संसद विघटनको सम्भावनालाई लिएर प्रधानमन्त्रीले प्रधानन्यायाधिशसँग भेट गरेको आशंकामा सत्यता नरहेको बताइन्छ । अहिले पनि धेरै टाढाको एउटा सम्भावना के हुनसक्छ भने, कथमकदाचित प्रधानमन्त्रीले विश्वासको मत पाएनन् । त्यसपछि उनले राजीनामा दिए । सबै सम्भावना हुँदाहुँदै पनि नयाँ प्रधानमन्त्रीको चयन हुन सकेन भने मात्र संसद विघटन हुनसक्छ । तर, यतिखेर त्यस्तो अवस्थाको सम्भावना मात्र होइन कल्पना पनि गर्न सकिँदैन ।
बरु, हिजो रातीको भेटलाई सर्वोच्च अदालतले हालै गरेको एउटा आदेश र निर्णयसँग जोडिएर हेरिएको छ । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको पालामा भएको सत्य निरूपणसम्बन्धी फैसलालाई लिएर प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच हिजो रातको समयमा भेट गरिएको हुनसक्ने अड्कल लगाइएको छ । द्वन्द्वकालको घटनामा आममाफी दिन पाईंदैन भन्दै सर्वोच्चको फैसला बिरुद्ध तत्कालीन सरकारले पुनरावलोकनको निम्ति निवेदन दिएको थियो । सुशील कोइरालाको पालामा कानुन मन्त्री नरहरि आचार्यसहित एमाले र माओवादीका प्रधिनिधिले संयुक्त रूपमा पुनरावलोकनको निवेदन पेश गरेका थिए ।

तर, त्यसपछिको सरकार उक्त पुनरावलोकनको निवेदन नै बिर्सेर कानुन संशोधनमा लाग्यो । तत्कालीन सरकारका केही मन्त्रीले सरकारको दोहोरो मापदण्डबारे प्रश्न उठाएका थिए । उनीहरूले ऐनमा संशोधन वा सर्वोच्चमा पुनरावलोकनमध्ये सरकारले एउटा मात्र काम गर्नुपर्ने बताएका थिए । त्यसपछि संशोधनको प्रक्रिया रोकियो ।

सबैभन्दा रमाइलो पक्षचाँहि अहिले लकडाउनकै अवधिमा सर्वोच्चले उक्त पुनरावलोकनलाई खारेज गरिदिएको छ । कतै अहिलेको राजनीतिक उतारचढावको क्षणमा पाँच वर्षअघिको उक्त पुनरावलोकनको निवेदनलाई खारेज गरेर सर्वोच्चले राम्रो काम गरेकोमा प्रधानमन्त्रीले धन्यवादका लागि प्रधानन्यायाधीशलाई बोलाएको हुनसक्छ । अध्यक्ष प्रचण्डलाई सबै हिसाबले ठीक पार्नसकिने मुद्दालाई सर्वोच्चले सतहमा ल्याइदिएको नेकपामा एकथरीले बताउन थाल्नुले पनि उक्त आशंकालाई बल मिलेको छ ।

अर्कोतर्फ, प्रधानमन्त्रीले कुनै संकेत वा आग्रह नगरेको अवस्थामा पनि प्रचण्डलाई तर्साउनैको लागि उपयुक्त समय र हतियार छानिएको हुनसक्छ । अन्तिम सम्भावनाको रूपमा प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरेमा सहयोगको आग्रह गर्नको लागि बोलाएको हुनसक्ने अड्कल समेत लगाइएको छ ।
(जनआस्था डटकमबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार