free website hit counter

राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर फेरि घट्यो

beemaadmin
२०८३ असार १४, आईतवार

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८३/८४ का लागि जीवन बीमालेखमा प्रदान गरिने नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले सबै प्रकारका मुनाफामा सहभागी हुने जीवन बीमालेखका लागि प्रतिहजार बीमांकमा वार्षिक ५० रुपैयाँ बोनस कायम गरेको हो।

नयाँ बोनसदरअनुसार सबै बीमा योजना र सबै बीमा अवधिमा समान रूपमा प्रतिहजार ५० रुपैयाँ बोनस प्रदान गरिने कम्पनीले जनाएको छ। यो दर गत आर्थिक वर्षको तुलनामा प्रतिहजार ५ रुपैयाँले कम हो।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा सबै बीमा योजनामा प्रतिहजार ५५ रुपैयाँ बोनस दिएको थियो भने त्यसअघि आर्थिक वर्ष २०८१/८२ मा प्रतिहजार ६० रुपैयाँ बोनसदर कायम गरेको थियो। यसरी कम्पनीको बोनसदर लगातार घट्दै आएको देखिएको छ।

नेपाल बीमा प्राधिकरण स्रोतका अनुसार कम्पनीको पुरानो हिसाब–किताब तथा दायित्व व्यवस्थापनसँग सम्बन्धित समस्या समाधान गर्दै घाटा रिकभरी गर्नुपर्ने अवस्था भएकाले बोनसदर घटाइएको हो।

कम्पनीको आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मको आर्थिक अवस्था तथा दायित्व मूल्यांकनसम्बन्धी बीमाङ्क प्रतिवेदन नेपाल बीमा प्राधिकरणले २०८२ पुस २९ गते स्वीकृत गरेको थियो। सोही आधारमा आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आगामी बीमांकीय मूल्यांकन सम्पन्न नहुँदासम्म यही बोनसदर अन्तरिम रूपमा लागू हुनेछ। बोनसदरमा आएको निरन्तर गिरावटले भविष्यमा बीमितले परिपक्वता वा दाबी भुक्तानीका क्रममा प्राप्त गर्ने बोनस रकममा प्रत्यक्ष असर पर्ने देखिएको छ।

सम्बन्धित समाचार