free website hit counter

वाणिज्य बैंकको कर्जा लगानी ६१ अर्बले बढ्यो

beemaadmin
२०८३ आश्विन ८, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको कर्जा लगानी करिब ६१ अर्ब रुपैयाँले बढेको छ। असार मसान्तदेखि भदौ मसान्तसम्म बैंकहरूले कुल ६० अर्ब ९७ करोड रुपैयाँ थप कर्जा प्रवाह गरेका हुन्।

असार मसान्तसम्म २० वाणिज्य बैंकको कुल कर्जा लगानी ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म बढेर ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।

Advertisement
Advertisement

आर्थिक वर्षको पहिलो महिना साउनमा भने बैंकहरूको कर्जा विस्तार सुस्त देखिएको थियो। साउनमा असारको तुलनामा कुल कर्जा लगानी १ अर्ब ७१ करोड रुपैयाँले घटेर ५२ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँमा झरेको थियो। तर भदौमा कर्जा विस्तारले गति लिएपछि समग्र दुई महिनाको कर्जा वृद्धि सकारात्मक देखिएको हो।

Advertisement
Advertisement

भदौ महिनामा मात्रै वाणिज्य बैंकहरूले ६२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। यसले साउनको तुलनामा भदौमा कर्जाको मागमा उल्लेख्य सुधार भएको देखाएको छ।

दुई महिनाको अवधिमा सबैभन्दा धेरै कर्जा विस्तार गर्ने बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले यस अवधिमा २० अर्ब १ करोड रुपैयाँले कर्जा लगानी बढाएको छ। एभरेष्ट बैंकले १२ अर्ब ८८ करोड रुपैयाँ थप कर्जा प्रवाह गर्दै दोस्रो स्थानमा रहेको छ।

लक्ष्मी सनराइज बैंकले पनि १० अर्ब ३१ करोड रुपैयाँले कर्जा लगानी बढाएको छ। त्यस्तै कुमारी बैंकले ७ अर्ब ६५ करोड, नबिल बैंकले ७ अर्ब ६ करोड, सिद्धार्थ बैंकले ४ अर्ब ८० करोड, माछापुच्छ्रे बैंकले ४ अर्ब ७४ करोड र एनएमबि बैंकले ४ अर्ब २९ करोड रुपैयाँले कर्जा विस्तार गरेका छन्।

कुल कर्जा लगानीको आकारमा भने ग्लोबल आइएमई बैंक र नबिल बैंकबीच प्रतिस्पर्धा देखिएको छ। भदौ मसान्तसम्म ग्लोबल आइएमई बैंकको कुल कर्जा लगानी ४ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। नबिल बैंकको कुल कर्जा लगानी ४ खर्ब ९५ अर्ब ४ करोड रुपैयाँ रहेको छ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल कर्जा लगानी ३ खर्ब ५९ अर्ब ७९ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३ खर्ब ४९ अर्ब ७१ करोड र लक्ष्मी सनराइज बैंकको ३ खर्ब ३० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।

समग्र बैंकिङ प्रणालीमा कर्जा लगानी बढे पनि सातवटा बैंकको कर्जा भने समीक्षा अवधिमा घटेको छ। सबैभन्दा ठूलो गिरावट एनआईसी एशिया बैंकमा देखिएको छ। बैंकको कर्जा लगानी दुई महिनामा ६ अर्ब ६९ करोड रुपैयाँले घटेर २ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ।

सानिमा बैंकको कर्जा लगानी ३ अर्ब ४६ करोड, प्रभु बैंकको २ अर्ब ७९ करोड र प्राइम कमर्सियल बैंकको १ अर्ब ४१ करोड रुपैयाँले घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा लगानीमा पनि सामान्य कमी आएको छ।

बैंकरहरूका अनुसार चाडपर्व नजिकिँदै जाँदा बजारमा व्यापारिक गतिविधि बढ्नु, सवारीसाधन तथा उपभोग्य वस्तुको माग र आयातमा वृद्धि हुनु तथा बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहनु कर्जा विस्तार बढ्नुका प्रमुख कारण हुन्।

पछिल्लो समय बैंकहरूले आधार दर घटाउँदै लगेका कारण कर्जाको ब्याजदरसमेत तुलनात्मक रूपमा सस्तो हुँदै गएको छ। पर्याप्त तरलता र घट्दो ब्याजदरका कारण व्यवसाय तथा अन्य क्षेत्रमा कर्जाको माग बढ्न थालेको बैंकिङ क्षेत्रका जानकारहरूको बुझाइ छ।

बजारमा आर्थिक गतिविधि विस्तार हुँदै गएमा आगामी महिनामा पनि कर्जा प्रवाह बढ्न सक्ने अपेक्षा गरिएको छ। यद्यपि कर्जा विस्तारसँगै बैंकहरूले कर्जाको गुणस्तर, जोखिम व्यवस्थापन र असुलीमा समेत विशेष ध्यान दिनुपर्ने चुनौती रहनेछ।

सम्बन्धित समाचार