काठमाडौं । कोरोना कहरका बीचमा पनि अत्यावश्यक सेवामा परेका वित्तीय संस्थाहरुले सेवा दिए । त्यही कारण कोरोनाले वित्तीय क्षेत्रमा अलि बढी प्रभावित बनाएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाका ३७०० भन्दा बढि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल बैंकर्स संघ कोरोना कहरको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपालीहरुको महान पर्व विजया दशमीलाई लक्षित गरी पाँच दिनसम्म कुनै पनि बैंकका शाखाहरु नखुल्ने जनाएको छ । संघद्वारा जारी सूचना अनुसार आगामी कार्तिक ७ गते शुक्रबारदेखि नै बैंकका सबै शाखा कार्यालयहरु बन्द हुनेछन् । र दशैं सकिएपछि कार्तिक १२ गतेदेखि मात्रै बैंकका शाखा कार्यालयहरु नियमित सुचारु हुनेछन् ।
नेपाल बैकर्स संघले कोरोना भाइरसको महामारीका कारण बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा ठूलो असर परेको भन्दै शाखा कोभिडकै कारण शाखा कार्यालयहरु नियमित सञ्चालन गर्न नसकिने जनाएको छ । यसअघि नेपालका बैंकहरुले दशैंको टीकाको दिनमा समेत सेवा दिँदै आएका थिए । यस पटक भने कोरोना भाइरसको कारण सेवा दिन नसकिएको संघले जनाएको छ ।