free website hit counter

वित्तीय खर्च घट्दा श्वेत गंगा हाइड्रोपावरको नाफामा ठूलो छलाङ

beemaadmin
२०८३ श्रावण २२, शुक्रबार

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गरेको छ। विद्युत बिक्रीबाट हुने आम्दानीमा सामान्य वृद्धि र वित्तीय खर्चमा आएको उल्लेख्य कमीका कारण कम्पनीको खुद नाफा एक वर्षमै करिब ९९ गुणाले बढेको हो।

सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष १७ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष यही अवधिमा कम्पनीको खुद नाफा १७ लाख ९९ हजार रुपैयाँ मात्र थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७.७० प्रतिशत बढेर ८४ करोड ७० लाख रुपैयाँ पुगेको छ। यस्तै, कुल नाफा १०.७३ प्रतिशत र सञ्चालन मुनाफा १७.७२ प्रतिशत ले वृद्धि भएको छ।

कम्पनीको नाफा वृद्धिमा सबैभन्दा ठूलो योगदान वित्तीय खर्चमा आएको २५.५४ प्रतिशतको कमीलाई मानिएको छ। ऋण लागत घटेपछि सञ्चालनबाट कमाएको आम्दानीको ठूलो हिस्सा नाफामा रूपान्तरण भएको देखिन्छ।

नाफा बढेसँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेखनीय रूपमा सुधारिएको छ। अघिल्लो आर्थिक वर्ष ११ पैसा रहेको ईपीएस गत आर्थिक वर्ष ११ रुपैयाँ १३ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ८३ रुपैयाँ ६५ पैसा कायम भएको छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको जगेडा कोष अझै २६ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेकाले विगतको सञ्चित घाटा पूर्ण रूपमा पूर्ति हुन बाँकी रहेको वित्तीय विवरणले देखाएको छ।

सम्बन्धित समाचार