free website hit counter

विदेशमै बसेर मुद्दा लड्ने तयारी

beemaadmin
२०८२ चैत्र २८, शनिबार

सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी गरेपछि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा ले कानुनी परामर्श सुरु गरेका छन्। हाल उनीहरू दुवै स्वास्थ्य उपचारका लागि विदेशमा रहेका छन्।

आरजु राणा देउवाले विदेशमै बसेर ह्वाट्सएपमार्फत विभिन्न कानुन व्यवसायीसँग पक्राउ पुर्जीबारे सल्लाह गरिरहेकी छन्। उनले वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती र शेरबहादुर केसीलगायतसँग नियमित रूपमा सम्पर्क राख्दै कानुनी अवस्था बुझिरहेकी बताइएको छ।

Advertisement
Advertisement

सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन सुरु भएपछि आरजु कांग्रेसका नेताहरू र आफूनिकट कानुन व्यवसायीसँग निरन्तर संवादमा छिन्। उनीसँग कुराकानी गरेका एक नेताका अनुसार, आरजुले नेपालमा भइरहेको पछिल्लो अवस्थाबारे जानकारी लिँदै ह्वाट्सएपमार्फत सन्देश र भिडिओ आदानप्रदान गरिरहेकी छन्।

Advertisement
Advertisement

पक्राउ पुर्जी जारी भइसकेपछि उनीहरू नेपाल फर्किने वा नफर्किने विषयमा भने स्पष्टता आएको छैन। यद्यपि, पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ। यदि उनीहरू नेपाल नफर्किएमा ‘रेड नोटिस’ जारी गर्ने प्रक्रिया अघि बढाउन सरकार तयारी अवस्थामा रहेको जनाइएको छ।

यसैबीच, कांग्रेस महामन्त्री प्रदीप पौडेलले देउवा दम्पतीले स्वदेश फर्केर अनुसन्धानमा सहयोग गर्नु उपयुक्त हुने बताएका छन्। उनका अनुसार ‘रेड नोटिस’ जारी हुनु अघि नै नेपाल फर्कनु सकारात्मक सन्देश हुनेछ।

देउवा दम्पती गत फागुनमा विदेश गएका थिए। देउवा फागुन १३ गते सिंगापुर गएका थिए भने आरजु फागुन १० गते भारत गएकी थिइन् र त्यहाँबाट सिंगापुर पुगेकी थिइन्। पछि उनीहरू हङकङ पनि पुगेको जानकारी देउवा सचिवालयले दिएको थियो।

पक्राउ पुर्जीबारे सार्वजनिक समाचारपछि देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै आफूमाथि लगाइएका आरोप भ्रामक भएको बताएका छन्। उनले सार्वजनिक पदमा रहँदा सम्पत्तिको विवरण कानुनअनुसार सम्बन्धित निकायमा बुझाएको उल्लेख गरेका छन्।

देउवाले लोकतन्त्र, विधिको शासन र पारदर्शिताका लागि आफूले जीवनभर संघर्ष गरेको दाबी गर्दै आफ्ना काम र जीवन खुला पुस्तकजस्तै भएको बताएका छन्। साथै, भ्रष्टाचार नियन्त्रणका लागि आफू गृहमन्त्री र प्रधानमन्त्री हुँदा कानुनी व्यवस्था निर्माणमा भूमिका खेलेको पनि स्मरण गराएका छन्।

अन्त्यमा उनले वास्तविकता समयसँगै स्पष्ट हुने विश्वास व्यक्त गर्दै भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्। हाल आफूहरू विदेशमै उपचाररत रहेको जानकारी दिँदै नेपाल फर्किने समयबारे भने केही उल्लेख गरेका छैनन्।

कानुन व्यवसायीहरूका अनुसार, देउवा दम्पतीले विदेशमै बसेर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कानुनी रूपमा लड्ने रणनीति बनाइरहेका छन्।

सम्बन्धित समाचार