नेपालगन्ज । पहिलो चरणको कोरोना महामारीका बेला उहाँ गर्भवती हुनुन्थ्यो । दाङको तुल्सीपुरस्थित लाइफकेयर हस्पिटलमा कार्यरत उहाँले संक्रमितलाई देखेकी मात्र नभई सेवा पनि गर्नुभयो । गर्भ आठ महिनाको भएपछि सुरक्षित प्रसूतिका लागि जागिर छाड्नुभयो । स्वस्थ छोरीलाई जन्म दिनुभएकी २० वर्षीया अनिशा वली आफैं नर्स भएकाले कोरोना संक्रमणप्रति सतर्क हुनुन्थ्यो । सुत्केरी अवस्थामा दाङ तुल्सीपुर–११ स्थित माइती जानुभयो । वहाँ वलीको सोमबार कोरोना संक्रमणका कारण निधन भएको छ । ‘तुल्सीपुरले घोराही पठायो । घोराहीको अस्पतालले पीसीआर पनि गरेन, भर्ना गर्न पनि मानेन,’ अनिशाका पति विनय कार्कीले भन्नुभयो, ‘समयमै उपचार भएको भए बाँच्ने थिइन्, अरूको सेवा गर्ने मान्छेले यसरी उपचार नै नपाएर ज्यान गुमाउनुपर्यो ।’ विनय सवारीचालक हुनुहुन्छ। आफ्नो गाडी आफैं चलाउने भएकाले विनय र अनिशाबीच छोरी ६र७ महिनाको हुन्जेल माइतीमा बस्ने सल्लाह थियो । अचानक पत्नी गुमाउनुपर्दा विनय स्तब्ध हुनुहुन्छ । नेपालगन्जमा सोमबारै पत्नीको दाहसंस्कार सकेर उहाँ तीन महिनाकी छोरी स्याहार्न दाङ फर्कनुभएको छ । उहाँ आफैं पनि संक्रमित हुनुहुन्छ । छोरीमा अहिलेसम्म संक्रमणको लक्षण नदेखिएको उहाँले बताउनुभयो । अनिशाले गत फागुनमा छोरीलाई जन्म दिनुभएको हो । माइतीमा बुबालाई कोरोना संक्रमण पुष्टि भयो । केही दिनपछि उहाँकी आमालाई पनि संक्रमण देखियो । आमालाई नेपालगन्जमा ल्याइयो । बिस्तारै अनिशालाई पनि रुघाखोकीले च्याप्दै गयो । आमाबुबाको स्वास्थ्यको चिन्ता गरिरहनु भएकी उहाँले आफूलाई भएको बिसन्चोबारे भेउ नै पाउनुभएन । गत चैत २८ मा रुघाखोकीले निकै च्याप्दै गएपछि उहाँ एक निजी क्लिनिकमा चेकअपका लागि पुग्नुभएको थियो । डाक्टरले पीसीआर गर्न सुझाए । आमाको स्वास्थ्य अवस्थाप्रति चिन्तित उहाँले आफ्ना लागि हतार गर्नुभएन । ‘सामान्य रुघाखोकी हो भन्दै औषधि खाइछन्, चैत ३१ गते दाइको फोन आएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि–आइसोलेसनमा ल्याएर राख्यौं,’ आफन्त दोर्ण वलीले भन्नुभयो, ‘ढिलो पुगेकाले त्यो दिन पीसीआर गर्न पाइएन । फेरि राप्ती लाइफकेयर हस्पिटलमा लगेर अक्सिजन दिएर राख्यौं ।’ गत बुधबार नेपालगन्जको मेडिकल कलेजमा पीसीआर गर्दा कोरोना देखिएपछि भने उहाँको उपचार भेरी अस्पताल नेपालगन्जमा सुरु गरिएको थियो । ‘अवस्था क्रिटिकल नै थियो । भेन्टिलेटरमा उपचार गराइरहेका थियौं,’ भेरी अस्पतालका मेसु डा।प्रकाश थापाले भन्नुभयो, ‘६ दिनदेखि उपचारमा हुनुहुन्थ्यो तर बचाउन सकिएन ।’ राप्ती लाइफ केयर नर्सिङ क्याम्पसमा नर्सिङ पढ्नुभएकी अनिशाले पढाइ सकेलगत्तै जागिर खानुभएको थियो । छोरीको वियोगबीच पत्नीको भेन्टिलेटरमा उपचार गराइरहेका अनिशाका पिता सन्तोष वली पीडामै छटपटाइरहनु भएको छ । ‘छोरो लमहीको बेलझुन्डी अस्पतालमा उपचाररत छ । छोरीलाई कोरोनाले लग्यो,’ उहाँले भन्नुभयो, ‘दैवले पनि एउटै मान्छेलाई कति चुट्न सकेको ?’