free website hit counter

विवाहको केही घण्टामै हेलिकप्टर दुर्घटनामा बेहुला पाइलटको मृत्यु

beemaadmin
२०८३ जेष्ठ १९, मंगलवार

अमेरिकाको जर्जिया राज्यमा विवाह सम्पन्न भएको केही घण्टामै हेलिकप्टर दुर्घटनामा परी भारतीय मूलका एक युवा पाइलटको मृत्यु भएको छ भने उनकी नवविवाहित श्रीमती घाइते भएकी छन्। दुर्घटनापछि दुलहीलाई करिब ६ घण्टापछि उद्धार गरिएको थियो।

२५ वर्षीय डेभ फिजीले मे २९ मा डसनभिलस्थित ‘द रिभिएर वेडिङ भेन्यु’मा जेसीसँग विवाह गरेका थिए। विवाह समारोहमा करिब ४०० पाहुनाको सहभागिता रहेको बताइएको छ।

विवाह सम्पन्न भएपछि नवविवाहित जोडी हेलिकप्टरमार्फत एटलान्टातर्फ प्रस्थान गरेका थिए। तर उडान भरेको केही समयमै हेलिकप्टर दुर्घटनाग्रस्त भयो। घटनाबारे जानकारी भने जुन १ मा सार्वजनिक भएको हो।

दुर्घटनाको अनुसन्धान अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले गरिरहेको छ। हालसम्म दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन भने प्रारम्भिक अनुसन्धान प्रतिवेदन आगामी ३० दिनभित्र आउने अपेक्षा गरिएको छ।

डेभ फिजी अमेरिकी विमान कम्पनी डेल्टा एयरलाइन्समा फर्स्ट अफिसरका रूपमा कार्यरत थिए। परिवारका अनुसार उनी बाल्यकालदेखि नै पाइलट बन्ने सपना बोकेका थिए र निरन्तर मेहनतपछि त्यो सपना पूरा गर्न सफल भएका थिए।

उनका बुबा जर्ज फिजीले विवाहको दिन छोरा अत्यन्तै खुसी रहेको स्मरण गर्दै भने, “उसको अनुहारमा देखिएको खुसी शब्दमा वर्णन गर्न सकिँदैन। जीवनको नयाँ अध्याय सुरु गरेकोमा ऊ निकै उत्साहित थियो।”

परिवारका अनुसार डेभ र जेसीको चिनजान चर्च समुदायमार्फत भएको थियो। मित्रता विस्तारै प्रेममा परिणत भएपछि उनीहरूले विवाह गर्ने निर्णय गरेका थिए।

दुर्घटनाको दिन मौसम प्रतिकूल रहेको बताइएको छ। जर्ज फिजीका अनुसार त्यस क्षेत्रमा बाक्लो कुहिरो र वर्षा भएकाले दृश्यता निकै कम थियो। डेभले उडानअघि मौसमबारे चिन्ता व्यक्त गर्दै हेलिकप्टर नउडाउन सुझाव दिएका थिए। तर हेलिकप्टर चालकले उच्च उचाइमा सुरक्षित रूपमा उडान गर्न सकिने बताएपछि यात्रा सुरु गरिएको थियो।

उडान भरेको केही समयमै हेलिकप्टर डसनभिल नजिकको घना जंगल क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। दुर्गम भूभाग र बाक्लो जंगलका कारण दुर्घटनास्थल पत्ता लगाउन तथा उद्धार कार्य सञ्चालन गर्न धेरै समय लागेको परिवारले जनाएको छ।

दुर्घटनापछि जेसी करिब ६ घण्टासम्म भग्नावशेषमै फसेकी थिइन्। होस खुल्दा आफू दुर्घटनाग्रस्त हेलिकप्टरभित्र रहेको र डेभको टाउको आफ्नो छातीमा अडिएको देखेको उनले बताएकी छन्।

“आँखा खोल्दा जताततै रगत थियो। त्यही क्षण मैले डेभ अब जीवित छैनन् भन्ने महसुस गरें,” उनले परिवारलाई सुनाएको घटनाबारे जर्ज फिजीले बताएका छन्।

पेसाले नर्स रहेकी जेसीलाई दुर्घटनामा विभिन्न चोटपटक लागेको भए पनि कुनै हड्डी भाँचिएको छैन। उनी उपचारपछि क्रमशः स्वास्थ्यलाभ गरिरहेकी छन्। तर विवाह भएको केही घण्टामै जीवनसाथी गुमाउनुपरेको पीडाले उनी गहिरो शोकमा रहेको परिवारले जनाएको छ।

डेभ फिजीका आमाबुबा भारतको केरलास्थित एर्नाकुलम जिल्लाको मुवाट्टुपुझाका स्थायी बासिन्दा हुन् भने जेसीको परिवार अलाप्पुझा जिल्लासँग सम्बन्धित रहेको बताइएको छ।

सम्बन्धित समाचार