free website hit counter

वैदेशिक रोजगार बीमा दाबीमा ढिलाइको गुनासो

beemaadmin
२०८३ श्रावण २४, आईतवार

काठमाडौं । वैदेशिक रोजगार बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको भन्दै बीमित तथा श्रमिकका परिवारबाट गुनासो बढिरहेका बेला बीमा कम्पनीहरूले भने आवश्यक कागजात पूरा भएपछि दाबी भुक्तानीमा अनावश्यक ढिलाइ नगरेको दाबी गरेका छन्।

वैदेशिक रोजगार बीमा व्यवसाय गर्दै आएका विभिन्न जीवन बीमा कम्पनीका अधिकारीहरूले दाबी भुक्तानीमा समस्या नभएको दाबी गर्दै आवश्यक कागजात अपुग, हकवालाको पहिचान स्पष्ट नभएको वा बैंक खाता विवरण नमिलेका कारण केही दाबीको प्रक्रिया लम्बिन सक्ने बताएका छन्।

एशियन लाइफ इन्स्योरेन्सका क्लेम विभाग प्रमुख प्रकाश खनालले दाबी प्रक्रिया सुरु गर्दा नै बीमित वा हकवालालाई आवश्यक कागजातबारे जानकारी गराउने गरिएको बताए। आवश्यक सबै कागजात प्राप्त भएपछि अध्ययन गरेर भुक्तानी गर्ने गरिएको उनको भनाइ छ।

उनका अनुसार कागजात अपुग भएमा पुनः माग गर्नुपर्ने तथा बैंक खाता नम्बर नमिलेमा समेत भुक्तानी प्रक्रिया केही समय लम्बिन सक्छ। जीवन बीमामा मृत्युको दाबी हुने भएकाले घटनाको वास्तविकता पुष्टि गर्न तुलनात्मक रूपमा सहज हुने उनले बताए।

सिटिजन लाइफ इन्स्योरेन्सले पनि वैदेशिक रोजगार बीमासहित अन्य बीमाको दाबी भुक्तानी प्रक्रिया सहज रहेको जनाएको छ। कम्पनीका सूचना अधिकारी गणेश चौलागाईंले दाबीसम्बन्धी फाइल दर्ता भएपछि आवश्यक प्रक्रिया पूरा गरी छोटो समयमै भुक्तानी गर्ने गरिएको बताए।

उनका अनुसार हकवालाको पहिचान वा नाता प्रमाणित गर्ने कागजात स्पष्ट नभएको अवस्थामा भने प्रक्रिया प्रभावित हुन सक्छ। उनले वैदेशिक रोजगार बीमाको वास्तविक अवस्था बुझ्न नेपाल बीमा प्राधिकरणको तथ्यांकका आधारमा कम्पनीगत रूपमा दाबी भुक्तानीको विश्लेषण गर्नुपर्ने बताए।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आवश्यक कागजात पूरा भएपछि २४ घण्टाभित्रै वैदेशिक रोजगार बीमाको दाबी सेटल गर्दै आएको दाबी गरेको छ। कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले आफ्नो कम्पनीमा करिब ९८ प्रतिशत दाबी फर्स्योट भइसकेको बताए।

उनका अनुसार बीमा गरिएको उद्देश्यअनुसार जोखिम परेको समयमा बीमित वा उनका परिवारले समयमै लाभ पाउनु आवश्यक छ। परिवारलाई आर्थिक जोखिमबाट जोगाउने उद्देश्यले गरिने भएकाले दाबी भुक्तानीलाई कम्पनीले प्राथमिकतामा राखेको उनले बताए।

वैदेशिक रोजगार बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको गुनासो बढेपछि सरकारले समेत यस विषयमा चासो देखाएको छ।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता भूपेन्द्र सापकोटाका अनुसार दाबी भुक्तानीलाई थप सहज, छिटो र प्रभावकारी बनाउने विषयमा बीमा कम्पनीहरूसँग छलफल भएको छ। छलफलमा कभरेजको दायरा विस्तार गर्ने, प्रक्रिया सरल बनाउने र तोकिएको समयभित्र दाबी भुक्तानी गर्ने विषयमा सहमति भएको उनले बताए।

यसअघि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले पनि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारले बीमा दाबी भुक्तानीमा अनावश्यक ढिलाइ भएको गुनासो गर्ने गरेको बताएका थिए।

मन्त्रालयले सम्बन्धित बीमा कम्पनीहरूलाई बोलाएर छलफल गर्दै कानुनअनुसार दाबी भुक्तानी नगरे श्रमिकको बीमासम्बन्धी जिम्मेवारी वैदेशिक रोजगार बोर्ड वा सामाजिक सुरक्षा कोषमार्फत सञ्चालन गर्ने विकल्पमा जान सकिने चेतावनीसमेत दिएको थियो।

नेपाल बीमा प्राधिकरणका अनुसार वैदेशिक रोजगार बीमामा पछिल्लो समय पहिलेदेखि रहेका रोग (प्रि–एग्जिस्टिङ डिजिज) र पोलिसी क्यान्सेलेसनसँग सम्बन्धित विवाद बढी देखिन थालेका छन्।

प्राधिकरणको उजुरी तथा गुनासो सुनुवाइ शाखा प्रमुख रञ्जिता केसीका अनुसार कतिपय बीमितले बीमा गर्दा आफूलाई पहिलेदेखि रहेका रोगबारे सही विवरण नदिने र पछि दाबी गर्दा विवाद उत्पन्न हुने गरेको पाइएको छ।

त्यस्तै, केही श्रमिकले बीमा पोलिसीको अवधि समाप्त भएपछि समयमै नवीकरण नगर्ने र जोखिम उत्पन्न भएपछि मात्रै पुनः बीमा गर्न खोज्ने गरेको उनले बताइन्।

‘जोखिम परिसकेपछि मात्रै बीमा गर्ने वा पुरानो रोग लुकाएर बीमा गर्ने प्रवृत्ति बीमाको सिद्धान्त अनुकूल हुँदैन,’ केसीले भनिन्।

उनले बीमितले प्रस्ताव फाराम भर्दा आफ्नो स्वास्थ्य अवस्था तथा पहिलेदेखिका रोगबारे सत्य र पूर्ण विवरण खुलाउनुपर्ने बताइन्। दाबी भुक्तानी छिटो गर्न निर्देशन भए पनि बीमाका आधारभूत सिद्धान्त र पोलिसीका सर्त पालना गर्नुपर्ने उनको भनाइ छ।

प्राधिकरणले बीमा कम्पनीहरूलाई स्वास्थ्य परीक्षण, जोखिम मूल्यांकन तथा स्वास्थ्यसम्बन्धी विवरण प्रमाणीकरण प्रक्रियालाई थप व्यवस्थित बनाउन सुझाव दिएको छ।

वैदेशिक रोजगार बीमा श्रमिक र उनका परिवारलाई जोखिम परेको अवस्थामा आर्थिक सुरक्षा प्रदान गर्ने महत्वपूर्ण माध्यम भएकाले दाबी भुक्तानीमा कम्पनीहरूको पारदर्शिता र बीमितको सही विवरण दुवै उत्तिकै महत्वपूर्ण हुने देखिएको छ।

सम्बन्धित समाचार