काठमाडौं — सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यसअघि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते दिउँसो २ बजे अधिवेशन आह्वान गरेका थिए। तर आह्वान भएको भोलिपल्टै सरकारकै सिफारिसमा उक्त अधिवेशन स्थगित गरिएको थियो।
अधिवेशन स्थगित गरेपछि सरकारले ८ वटा अध्यादेश जारी गरेको छ। तीमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रारम्भमा फिर्ता पठाएका थिए। पछि मन्त्रिपरिषद् बैठकले पुनः सिफारिस गरेपछि सो अध्यादेश आजै जारी गरिएको हो।
अध्यादेश जारी भएसँगै सरकारले पुनः संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो।