free website hit counter

व्यतित बीमालेख पुनःसक्रिय गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट

beemaadmin
२०८३ असार १५, सोमबार

काठमाडौं । मेटलाइफ नेपालले सीमित अवधिका लागि विशेष अभियान सञ्चालन गर्दै व्यतित (ल्याप्स) भएका बीमालेख पुनःसक्रिय गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। कम्पनीका अनुसार यो सुविधा ‘वान बाई मेटलाइफ’ एप तथा नजिकको शाखा कार्यालयमार्फत लिन सकिनेछ।

अभियानअन्तर्गत पाँच वर्षभित्र व्यतित भएका बीमालेख पुनःसक्रिय गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गरिनेछ। त्यस्तै, पाँच वर्षभन्दा बढी समयदेखि व्यतित रहेका बीमालेख पुनःसक्रिय गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।

यो विशेष अभियान जुन १८ देखि जुलाई १६, २०२६ सम्म सञ्चालन हुनेछ। कम्पनीका अनुसार अभियानमार्फत ग्राहकहरूले अतिरिक्त जरिवानाबाट बचत गर्दै आफ्नो बीमा सुरक्षा पुनःस्थापित गर्न सक्नेछन्।

‘वान बाई मेटलाइफ’ एप प्रयोग गर्ने ग्राहकले शाखा कार्यालयमा उपस्थित नभई घरबाटै बीमालेख पुनःसक्रिय गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि एपमा लगइन गरी ‘माई इन्स्योरेन्स’ अन्तर्गत रहेको निष्क्रिय बीमालेख चयन गरेर ‘रिइन्स्टेट पोलिसी’ विकल्पमार्फत आवश्यक विवरण भरी अनुरोध पेश गर्न सकिनेछ। ग्राहकले आफ्नो अनुरोधको अवस्थासमेत एपबाटै हेर्न सक्नेछन्।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले डिजिटल माध्यमबाट बीमा सेवालाई अझ सरल, सहज र पहुँचयोग्य बनाउने उद्देश्यअनुरूप यो अभियान सञ्चालन गरिएको बताए। उनले सबै ग्राहकलाई यस अवसरको लाभ उठाएर आफ्नो बीमा सुरक्षा पुनःस्थापित गर्न आग्रह गरेका छन्।

कम्पनीका अनुसार एप प्रयोग गर्न असहज हुने ग्राहकले नजिकको मेटलाइफ शाखा कार्यालयमा पुगेर पनि बीमालेख पुनःसक्रिय गर्न सक्नेछन्।

सम्बन्धित समाचार