काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको छैठौं वार्षिक साधारणसभाले शेयरधनीहरुलाई दिन प्रस्ताव गरिएको १९ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६–७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी २ दशमलव ५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभा कार्की ब्यांक्वेट, बबरमहलमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७६–७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६–७७ को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ । नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरू दिप प्रकाश पाण्डे र सुनिल बल्लभ पन्त निर्बिरोध निर्बाचित भएका छन् ।
सभाले प्रबन्धपत्रको दफा ६ (२) र (३) मा छलफल गरी देहाय बमोजिम संशोधन गर्ने, सञ्चालक समितिको बैठक भत्ता लगायतका सुविधामा वृद्धि गर्ने,कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा (१०) ग अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो वमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाईअख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
सभामा वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेले कम्पनीलाई विश्वस्तरीय पुनर्बीमा कम्पनीको रुपमा विकास गर्दै अघि बढ्ने र अधिकृत तथा जारी एवं चुक्ता पूँजी वृद्वि गर्दै लगिने प्रतिबद्धता जनाउनुभएको थियो ।
विश्व बजारमा आफ्नो प्रभाव बढाउँदै लगेको कम्पनीले हाल १७ वटा देशको ३० वटा कम्पनीसँग व्यबसायिक कारोबार गरिरहेको छ । कम्पनीले नाइजेरिया, बहराइन, बंगलादेश, भुटान, कम्बोडिया, युएई, भारत, कुवेत, माल्दिभ्स, फिलिपिन्स, साउदी, भियतनाम, यमन, रसिया, केन्या, पपुवा न्यु गिनी, र सिरालियोनका बीमक तथा पुनर्बीमकहरूको पुनर्बीमा स्वीकार गरी बीमाशुल्क आर्जन गर्दै आफ्नो सेवालाई अन्तर्राष्ट्रियकरण गर्दै अघि बढेको छ ।
अन्तर्राष्ट्रिय बीमक तथा पुनर्बीमकहरूका पुनर्बीमा व्यवसायमा पुनर्बीमा व्यवसाय सामान्यतया कम जोखिमयुक्त हुने हुँदा कम्पनीले बजारिकरण गर्दै आएको छ र बढी देशहरूवाट नाफामूलक व्यवसाय प्राप्त गर्ने रणनीति लिएको छ । पुनर्बीमा व्यवसाय अपेक्षाकृत रूपमा जोखिमयुक्त हुने हुँदा हाललाई कम्पनीवाट उक्त व्यवसाय स्वीकार नगरिएको जानकारी कम्पनीले साधारणसभामा जनाएको छ । कम्पनीले समीक्षा वर्षमा भारतीय बीमा तथा पुनर्बीमा कम्पनीको पुनर्बीमा व्यवसाय गर्ने कानुनी इजाजत भारतीय बीमा नियमन तथा बिकास प्राधिकरणबाट प्राप्त भइसकेको हुँदा आगामी दिनहरूमा भारतीय बजारमा व्यवसाय बढ्ने जनाएको छ । आगामी दिनमा कम्पनीले नयाँ बजारको खोजी गर्ने र जोखिमलाई आवश्यकतानुसार व्यवस्थापन गर्दै जाने उल्लेख गरेको छ ।