काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब रुपैयाँ (६०० करोड) कुल बीमाशुल्क संकलन गर्दै नेपाली निर्जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ।
कम्पनीले हासिल गरेको यो उपलब्धिले नेपालको निर्जीवन बीमा बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाएको जनाएको छ। साथै, बीमाको पहुँच विस्तार, आर्थिक जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि तथा वित्तीय समावेशीकरणमा कम्पनीले पुर्याउँदै आएको योगदानलाई पनि यस उपलब्धिले प्रतिबिम्बित गरेको कम्पनीको भनाइ छ।
स्थापनाकालदेखि नै बीमाको पहुँच विस्तार, नवीन बीमायोजना विकास तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको शिखर इन्स्योरेन्सले हाल देशका ७३ जिल्लामा फैलिएका १३१ शाखा तथा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।
कम्पनीका अनुसार यसको सफलताका प्रमुख आधारमा सुदृढ वित्तीय अवस्था, अनुभवी व्यवस्थापन, दक्ष जनशक्ति, प्रभावकारी पुनर्बीमा व्यवस्था, छिटो तथा पारदर्शी दाबी भुक्तानी प्रणाली, प्रविधिमैत्री सेवा, ग्राहक केन्द्रित कार्यसंस्कृति, संस्थागत सुशासन तथा प्रभावकारी जोखिम व्यवस्थापन रहेका छन्।
यस उपलब्धिमा साथ र विश्वास गर्ने ग्राहक, अभिकर्ता, सर्भेयर, पुनर्बीमक, शेयरधनी, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति कम्पनीले आभार व्यक्त गरेको छ।
शिखर इन्स्योरेन्सले आगामी दिनमा पनि नवीन सेवा, उत्कृष्ट ग्राहक अनुभव, सुशासन र व्यावसायिक उत्कृष्टतालाई निरन्तरता दिँदै नेपालको बीमा क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।