free website hit counter

शिखर इन्स्योरेन्सले ल्यायो ‘साइबर बीमा पोलिसी’

beemaadmin
२०८३ श्रावण ७, बिहीबार

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले नेपालमा बढ्दो साइबर जोखिमलाई लक्षित गर्दै ‘साइबर बीमा पोलिसी’ सार्वजनिक गरेको छ। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले उक्त बीमा योजना औपचारिक रूपमा बजारमा ल्याएको हो।

डिजिटल प्रणालीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा साइबर आक्रमण, डेटा चुहावट तथा सेवा अवरोधजस्ता जोखिम पनि बढिरहेका छन्। यिनै जोखिमबाट संस्थाहरूलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले कम्पनीले नयाँ बीमा योजना ल्याएको जनाएको छ।

Advertisement
Advertisement

यो पोलिसी विशेषगरी सूचना प्रविधि कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योग–व्यवसाय, अस्पताल तथा शैक्षिक संस्थालाई लक्षित गरिएको छ। हालका लागि व्यक्तिगत ग्राहकलाई भने यो सुविधा उपलब्ध नहुने कम्पनीले स्पष्ट गरेको छ।

Advertisement
Advertisement

के–के जोखिम समेटिन्छ?

साइबर बीमा पोलिसीअन्तर्गत साइबर आक्रमण वा साइबर अपराधका कारण हुने विभिन्न आर्थिक क्षतिलाई रक्षावरण गरिनेछ। यसमा डेटा पुनः प्राप्त गर्न लाग्ने खर्च, साइबर घटनाका कारण व्यवसाय अवरुद्ध हुँदा हुने आम्दानीको क्षति, सेवाग्राहीप्रतिको कानुनी दायित्व तथा मुद्दा व्यवस्थापनमा लाग्ने खर्चसमेत समावेश गरिएको छ।

बीमाशुल्क भने सम्बन्धित संस्थाको जोखिमको स्तर, कारोबारको प्रकृति तथा आवश्यक रक्षावरणका आधारमा निर्धारण गरिने कम्पनीले जनाएको छ।

बीमा लिन के गर्नुपर्छ?

बीमा खरिद गर्न इच्छुक संस्थाले प्रस्ताव फाराम भरी आफ्नो साइबर सुरक्षा नीति तथा विद्यमान सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी उपलब्ध गराउनुपर्नेछ।

विशेषगरी मास्टरकार्ड वा भिसा कार्डमार्फत कारोबार गर्ने संस्थाका लागि सूचना प्रणालीको अनिवार्य सुरक्षा परीक्षण (आईटी अडिट) गराइएको हुनुपर्ने व्यवस्था गरिएको छ।

नेपालमा नयाँ अभ्यास

नेपालमा साइबर बीमा अझै प्रारम्भिक चरणमै रहेको छ। यसअघि नेपाल इन्स्योरेन्सले साइबर क्राइमसम्बन्धी बीमा योजना ल्याए पनि विभिन्न कारणले त्यसलाई निरन्तरता दिन सकेको थिएन।

शिखर इन्स्योरेन्सले भने अन्तर्राष्ट्रिय पुनर्बीमा साझेदारहरूको सहकार्यमा नेपालको कानुनी व्यवस्था र बजार आवश्यकताअनुसार परिमार्जित साइबर बीमा योजना ल्याएको जनाएको छ।

कम्पनीका अनुसार हाल पुनर्बीमा ‘केस–टु–केस’ आधारमा गरिनेछ भने आगामी दिनमा यसलाई दीर्घकालीन सम्झौतामार्फत सञ्चालन गर्ने योजना रहेको छ। कम्पनीले बढ्दो डिजिटल कारोबारसँगै संस्थागत साइबर सुरक्षाको आवश्यकता बढेकाले यस बीमाप्रति आकर्षण बढ्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार