free website hit counter

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरूमा सक्रिय बीमालेखको संख्या १ करोड ६२ लाख ५३ हजार पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १ करोड ४१ लाख ५३ हजार थियो। यस आधारमा चालू आवको सात महिनामा सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि भएको देखिएको छ।

बीमा कम्पनीहरूका अनुसार पछिल्लो समय बीमितहरूमा समयमै बीमालेख नवीकरण गर्ने प्रवृत्ति बढ्दै गएको छ। बीमासम्बन्धी जनचेतना विस्तारै वृद्धि हुनु र नवीकरण प्रक्रियामा सुधार आउनुले सक्रिय बीमालेखको संख्या उकालो लागेको हो।

Advertisement
Advertisement

लघु जीवन बीमाको वर्चस्व

माघ मसान्तसम्म सक्रिय बीमालेखमध्ये सबैभन्दा ठूलो हिस्सा लघु जीवन बीमाको रहेको छ। कुल सक्रिय बीमालेखमध्ये ३५.१६ प्रतिशत हिस्सा लघु जीवन बीमाको छ। गत वर्षको माघसम्म ४० लाख ३१ हजार रहेको लघु जीवन बीमालेख संख्या चालू आवमा बढेर ५७ लाख पुगेको छ, जुन ४१.४२ प्रतिशतको उल्लेखनीय वृद्धि हो।

Advertisement
Advertisement

म्यादी जीवन बीमा दोस्रो स्थानमा

लघु जीवन बीमापछि म्यादी जीवन बीमाको हिस्सा दोस्रो स्थानमा छ। यसको हिस्सा २१.१४ प्रतिशत रहेको छ। सात महिनाको अवधिमा म्यादी जीवन बीमालेख ३४ लाख २७ हजार ७६२ पुगेको छ। गत आवको सोही अवधिमा यस्तो संख्या २४ लाख ४ हजार थियो। तुलनात्मक रूपमा म्यादी जीवन बीमालेख ४.३४ प्रतिशतले बढेको देखिन्छ।

वैदेशिक रोजगार म्यादी जीवन बीमा

वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको संख्या पनि बढ्दो क्रममा छ। गत आवको माघसम्म २३ लाख ४६ हजार रहेको यस्तो बीमालेख चालू आवमा २४ लाख ४ हजार पुगेको छ, जुन २.४३ प्रतिशत वृद्धि हो। कुल सक्रिय बीमालेखमा यसको हिस्सा १४.४७ प्रतिशत छ।

अन्य बीमालेखहरूको अवस्था

माघ मसान्तसम्म सावधिक जीवन बीमालेख २१ लाख ८९ हजार, बालबच्चासम्बन्धी सावधिक जीवन बीमालेख १० लाख ८९ हजार, रूपान्तारिक सावधिक जीवन बीमालेख ६ लाख, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख ४ लाख ५७ हजार, आजीवन जीवन बीमालेख १ लाख ७० हजार, अन्य जीवन बीमालेख १ लाख २३ हजार तथा एकल बीमा शुल्क बीमालेख १ लाख ११ हजार रहेका छन्।

गत वर्षको तुलनामा सावधिक जीवन बीमालेख ६.६७ प्रतिशत, बालबच्चासम्बन्धी सावधिक ७.२५ प्रतिशत, रूपान्तारिक सावधिक १२.१४ प्रतिशत र अग्रिम भुक्तानी सावधिक २.९५ प्रतिशतले वृद्धि भएका छन्। भने आजीवन जीवन बीमालेख ३.८८ प्रतिशत र अन्य जीवन बीमालेख ०.२२ प्रतिशतले घटेका छन्।

समग्रमा, जीवन बीमा क्षेत्रमा सक्रियता बढ्दै गएको संकेत देखिएको छ, जसले बीमाप्रति सर्वसाधारणको आकर्षण र विश्वास दुवै विस्तार हुँदै गएको पुष्टि गर्दछ।

सम्बन्धित समाचार