काठमाडौं । सगरमाथा इन्स्योरेन्सले तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको सोही अवसधको तुलनामा कम्पनीको खुद नाफामा झिनो सुधार देखिएको छ। इन्स्योरेन्सले शुक्रबार प्रकाशित गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद बीमाशुल्क भने समीक्षा अवधिमा घटेको छ। चालु आवको चैत मसान्तसम्ममा इन्स्योरेन्सले १७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा २२ लाख १७ हजार रुपैयाँ मात्र बढी हो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क भने ९ करोड २५ लाख रुपैयाँ घटेको छ। गत आवको चैत मसान्तसम्ममा ८३ करोड ६१ लाख रुपैयाँ रहको इन्स्योरेन्सको खुद बीमाशुल्क चालु आवको सोही अवधिसम्ममा घटेर ७४ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ। १ अर्ब १२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३४ करोड ४७ लाख रुपैयाँ बीमा कोषमा ६२ करोड १३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ११ करोड रुपैयाँ सञ्चित छ।
इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ६५ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २५।३१ गुणा कायम भएको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले १ लाख १४ हजार २६६ बीमालेख जारी गरी १ अर्ब ७० करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरिसकेको छ। जसमध्ये सो अवधिसम्ममा ३२ हजार २१४ बीमालेख नविकरण गरिएको छ। त्यसैगरी, सो अवधिसम्ममा इन्स्योरेन्सले ४ हजार ९४६ दाबी बापत ८० करोडभन्दा बढी भुक्तानी गरिसकेको छ भने ३ हजार ६९६ दाबी बापतको ९६ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ।