काठमाडौं । सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रस्ताव राष्ट्रिय भेला/सम्मेलनबाट अनुमोदन भएपछि नेपाली कांग्रेसको संस्थापनइतर समूहभित्रै मतभेद देखिएको छ। नेताहरूबीच सहमति नजुटेपछि सम्मेलनका निर्णय सार्वजनिक गर्न तय गरिएको पत्रकार सम्मेलनसमेत रोकिएको छ।
सम्मेलनको समापन सत्रमा अचानक सनातन धर्मसम्बन्धी प्रस्ताव प्रस्तुत गरी ताली बजाएर अनुमोदन गराइएको भन्दै केही नेताहरूले असहमति जनाएका छन्। नेताहरूबीच पुनः छलफल गरी स्पष्ट निष्कर्षमा पुगेपछि मात्रै निर्णय सार्वजनिक गर्ने तयारी गरिएको छ।
नेताहरू शंकर भण्डारी र प्रकाशशरण महतलगायतले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता समेटिएको प्रस्ताव तयार पारेका थिए। सम्मेलनबाट करिब २० वटा निर्णय गर्ने प्रारम्भिक सहमति भए पनि समापन सत्रमा पाँचबुँदे प्रस्ताव थपिएपछि विवाद सुरु भएको नेताहरूको भनाइ छ।
प्रस्तावमा नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृति राष्ट्रिय पहिचान भएको उल्लेख गर्दै हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण तथा धार्मिक स्वतन्त्रताको सुनिश्चिततासहित सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको थियो।
तर पूर्वउपसभापति विमलेन्द्र निधि, महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता रमेश लेखक र मीनबहादुर विश्वकर्मालगायत नेताहरूले यस्तो विषयलाई सम्मेलनको निर्णयमा समावेश गर्न नहुने अडान लिएका थिए।
प्रस्ताव हलमा प्रस्तुत गर्ने क्रममा निधिले मञ्चमै पुगेर नेता महतसँग असहमति जनाएका थिए। उनीसहित केही नेताहरू संविधानमा कायम रहेको धर्मनिरपेक्षताको व्यवस्था यथावत् राख्नुपर्ने पक्षमा थिए।
संस्थापनइतर पक्षका नेताहरूका अनुसार शंकर भण्डारीले बन्दसत्रदेखि नै सनातन हिन्दु धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषय उठाउँदै आएका थिए। राजनीतिक प्रस्तावमा धर्मसम्बन्धी विषय नसमेटिएपछि उनले यसबारे धारणा राख्न आग्रह गर्दै निवर्तमान सभापति शेरबहादुर देउवालाई चिट पठाएको बताइएको छ।
त्यसपछि समापन कार्यक्रममा देउवाले आफू हिन्दु भएको र धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका थिए। देउवाले हिन्दु धर्म मान्ने आफ्नो अधिकार रहेको बताउँदै अन्य धर्म मान्ने नागरिकको अधिकार पनि सम्मान गर्नुपर्ने धारणा राखेका थिए।
तर संस्थापनइतर पक्षकै एक नेताले भने देउवालाई केही नेताहरूले धर्मसम्बन्धी प्रस्ताव अघि बढाउन ‘प्रयोग’ गरेको दाबी गरेका छन्। ती नेताका अनुसार देउवाको यस विषयमा पूर्वनिर्धारित राजनीतिक अडान थिएन।
नेता मीनबहादुर विश्वकर्माले धर्मसम्बन्धी प्रस्तावमा नेताहरूबीच थप छलफल आवश्यक रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत पनि नेताहरूबीच विचार र मन नमिलेको संकेत गरेका छन्।
कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको अवस्थामा संविधानको धर्मनिरपेक्ष व्यवस्थालाई प्रभावित पार्ने निर्णय गर्न नहुने मत पार्टीभित्र बलियो रहेको नेताहरू बताउँछन्।
यसैबीच, सनातन धर्मसम्बन्धी निर्णयलाई लिएर संस्थापनइतर समूहमा बढेको असन्तुष्टिका कारण राष्ट्रिय भेलाका निर्णय औपचारिक रूपमा सार्वजनिक गर्ने कार्यक्रम तत्कालका लागि रोकिएको छ। नेताहरूबीच सहमति बनेपछि मात्रै निर्णय सार्वजनिक गरिने बताइएको छ।